बलिउडका 'बादशाह' उपमा पाएका शाहरूख खान झन्डै चार महिनापछि सामाजिक सञ्जालमा फर्किएका छन्।
पोहोर सेप्टेम्बरदेखि सामाजिक सञ्जालमा पोस्ट नगरेका उनले आज बुधबार मात्र नयाँ पोस्ट गरेका हुन्।
शाहरूखले आफूले खेलेको एलजी टिभीको विज्ञापनको भिडिओ इन्स्टाग्राममा राखेका छन्। यसमा शाहरूखसँगै उनकी पत्नी गौरी पनि देखिएकी छन्।
शाहरूखले यो पोस्ट गरेसँगै प्रशंसकहरूले खुसी व्यक्त गरेका छन्।
केहीले उनको विज्ञापनकै पोस्टमा लेखेका छन्- किङ इज ब्याक।
अरू धेरैले उनलाई माया र शुभकामना दिएका छन्। उनी फर्केर आएकोमा खुसी भएको बताएका छन्।
गत अक्टोबर २ मा शाहरूखका छोरा आर्यन लागुपदार्थ मुद्दामा पक्राउ परेका थिए। उनलाई तीन साताभन्दा बढी समय मुम्बईको आर्थर जेलमा राखिएका थियो।
आर्यनको जमानत अपिल बारम्बार खारेज भएको थियो। उनको तर्फबाट भारतका चर्चित वकिल तथा पूर्व महान्यायाधिवक्ता मुकुल रोहतगीले बहस गरेका थिए। पछि बल्लबल्ल उनलाई अदालतले विभिन्न शर्तहरू राखेर जमानत दिएको थियो।
आर्यन पक्राउ परेदेखि नै शाहरूखले सामाजिक सञ्जालमा कुनै पोस्ट गरेका थिएनन्। उनी मिडियामा पनि अहिलेसम्म आएका छैनन्। न निर्देशक तथा निर्माता समेत रहेकी गौरी नै सार्वजनिक रूपमा आएकी छन्।
उनीहरूकी छोरी सुहाना खानले पनि लामो समय सामाजिक सञ्जाल चलाएकी थिइनन्। तर केही समयअघि देखि उनी पुनः सक्रिय भएकी छन्।
आर्यनको त झन् इन्स्टाग्राम अकाउन्टबाट सबै कुरा हटाइएको थियो। जमानत पाएको केही समयपछि भने उनले इन्स्टाग्राममा पोस्ट गरेका थिए। उनी सामाजिक सञ्जालमा अहिले पनि सक्रिय भने छैनन्।
आर्यन पक्राउ परेपछि कतै सार्वजनिक रूपमा नदेखिएका शाहरूख एकैपटक आर्यन जेलबाट छुटेका दिन आर्यनको पक्षमा लडेका वकिल र सहकर्मीहरूसँग फोटोमा देखिएका थिए। यो फोटो अरूले नै सार्वजनिक गरेका थिए।
यसपछि पनि लामो समयसम्म पनि सञ्चारमाध्यमबाट टाढै रहे। अहिलेसम्म उनले आफ्नोतर्फबाट सामाजिक सञ्जालमा तस्बिर राखेका छैनन्।
केही दिनअघि भने सामाजिक सञ्जालमा उनको हालैको तस्बिर सार्वजनिक भएको थियो। यो फोटो उनको आगामी फिल्म 'पठान' को सुटिङ क्रमको रहेको बताइएको थियो।
शाहरूखसँगै दीपिका पादुकोण र जोन अब्राहमको मुख्य भूमिका रहने पठानको सुटिङ कोरोना र विभिन्न कारणले बारम्बार रोकिएको छ। तर यसपालि भने सुटिङ सकिने अनुमान गरिएको छ।
तीन वर्षयता शाहरूखको कुनै नयाँ फिल्म आएको छैन। उनको पछिल्लो समय, सन् २०१८ मा 'जिरो' फिल्म आएको थियो।