तेलुगू र तमिल फिल्म उद्योगकी चर्चित अभिनेत्री सामन्था रूथ प्रभु र अभिनेता नागा चैतन्यले यसै वर्ष डिभोर्स गरे। उनीहरूले विवाहको चार वर्षपछि सम्बन्धविच्छेदको घोषणा गरेका हुन्। उनीहरूको डिभोर्सले धेरै प्रशंसकहरूलाई अचम्म बनाएको थियो।
उनीहरू किन अलग्गिए भन्नेबारे धेरै अड्कलबाजी भइरहेका छन्। सामन्था र नागा चैतन्य कसैले पनि यसबारे स्पस्ट बताएका छैनन्।
यसैबीच नागाका बुवा तथा अभिनेता नागार्जुन अक्किनेनीले यसबारे केही बोलेका छन्।
बलिउड लाइफका अनुसार उनले हालै दिएको अन्तर्वार्तामा आफ्ना छोराबुहारीको डिभोर्सबारे केही बोलेका हुन्।
नागार्जुनले अन्तर्वार्तामा भनेअनुसार डिभोर्सका लागि सामन्थाले नै पहिले कदम चालेकी थिइन्।
'नागा चैतन्यले सामन्थाको निर्णय स्वीकार्यो तर ऊ मेराबारेमा धेरै चिन्तित थियो,' नागार्जुनका भनाइ उद्धृत गर्दै बलिउड लाइफले लेखेको छ, 'मैले के सोच्छु, हाम्रो परिवारको इज्जतमा के असर पर्ला भन्नेजस्ता कुरालाई लिएर उसलाई चिन्ता थियो।'
नागार्जुनले सामन्था र नागाको कुरा केमा मिलेन भन्नेबारे आफूलाई यकिन नभएको पनि बताएका छन्।
उनले भनेका छन्, 'नागा चैतन्यले मैले धेरै पिर लिएँ भनेर मलाई खुबै सम्झायो। उनीहरू चार वर्षदेखि साथ थिए। यो अवधिमा उनीहरूबीच यस्तो खाले समस्या आएको थिएन। दुवै एकदमै नजिक थिए र यो निर्णयमा कसरी पुगे भन्नेबारे मलाई थाहै भएन। उनीहरूले पोहोर नयाँ वर्ष पनि सँगै मनाएका थिए। सायद त्यसपछि उनीहरूबीच समस्या आएको होला।'
केही साताअघि मात्र नागार्जुनले नागा चैतन्यले डिभोर्सलाई जसरी सामना गरे, त्यसमा आफूलाई गर्व लागेको बताएका थिए।
हालसालै नागा चैतन्यले पनि सामन्था र आफूले सहमतिमा सम्बन्ध तोडेको बताएका छन्।
यसअघि सामन्थाले पनि यो सम्बन्धमा आफूलाई एकदमै गाह्रो भएको बताएकी थिइन्।
'द फ्यामिली म्यान २' वेबसिरिजमार्फत् बलिउड पनि प्रवेश गरेकी सामन्थाले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै सम्बन्धविच्छेद गर्ने घोषणा गरेकी थिइन्।
उनले भनेकी थिइन्, 'हामी चाँडै नै अलग हुँदैछौं। मैले धेरै सोच विचार गरेर नै आफ्नो बाटो लाग्नको लागि पति र पत्नीको रूपमा अलग हुने फैसला गरेकी छु। हामी भाग्यशाली छौं कि एक दशकको मित्रता नै हाम्रो सम्बन्धको मूल थियो। हामीलाई विश्वास छ हामीबीच एक विशेष सम्बन्ध रहनेछ। हामी शुभचिन्तक, प्रशंसक र मिडियालाई हाम्रो यो कठिन समयमा साथ र सहयोग गर्न अनुरोध गर्न चाहन्छौं।'
फ्यामिली म्यान-२ को कामबाट सामन्थाले बलिउडबाट पनि माया पाइन्। निकट स्रोतका अनुसार उनी आफ्नो अभिनय करिअर अझै अगाडि बढाउन चाहन्छिन्।
यता नागा चैतन्य पनि आमिर खानको नयाँ फिल्म 'लाल सिंह चड्डा' बाट बलिउडमा प्रवेश गरेका छन्। योसँगै उनको बालबच्चा जन्माएर परिवार ठूलो बनाउने चाहना छ।
यही फरक चाहनाको कारण सामन्था र नागा चैतन्यबीच मनमुटाव भएको बताइएको छ।
सामन्था र नागा चैतन्यको पहिलो भेट सन् २००९ मा रिलिज भएको फिल्म 'ये माया चेसावे' को सेटमा भएको थियो। त्यो बेलादेखि नै उनीहरूको सम्बन्ध राम्रो थियो र दर्शकहरूले पनि यो जोडीलाई खुबै मन पराएका थिए।
त्यो बेला उनीहरूबीच राम्रो बुझाइ भए पनि उनीहरू सम्बन्धमा बसेनन्। त्यो समय नागा चैतन्य अभिनेत्री श्रुती हसनसँग प्रेम सम्बन्धमा थिए। सामन्था पनि सिद्धार्थकी प्रेमिका थिइन्।
तर सन् २०१३ तिर नागा चैतन्य र श्रुतीको ब्रेकअप भयो। सामन्था र सिद्धार्थ पनि एकअर्काबाट टाढा भए। ब्रेकअपपछि सामन्था र नागा चैतन्य केहीसमय एकअर्कासँग प्रेम सम्बन्धमा रहे। उनीहरूले सन् २०१७ मा वैवाहिक सम्बन्ध गाँसेका थिए।
पछिल्लो समय सामन्था अल्लु अर्जुन र रश्मिका मन्दनाको मुख्य भूमिका रहेको 'पुष्पाः द राइज' को 'उ उ अन्टवावा' (हिन्दीमा उ उ बोलेगा) बोलको आइटम गीतमा देखिएकी थिइन्। फिल्मको यही एक गीतमा मात्र देखिएकी सामन्थाले अहिले खुबै प्रशंसा बटुलिरहेकी छन्।
उनको नृत्य र हाउभाउकै कारण यो गीत धेरै रूचाइएको पनि छ। कतिले त सामन्थाको यो एक गीतले आइटम डान्स गर्ने अरू सबै कलाकारलाई पछाडि पारिदिएको पनि भनेका छन्।