भारतीय अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक तथा अभिनेता निक जोनास आमाबुवा बनेका छन्। गत शुक्रबार प्रियंकाले आफ्नो इन्स्टाग्राममार्फत् आफूहरूको पहिलो सन्तानको जन्म भएको जानकारी दिएकी हुन्।
प्रियंकाले आफूहरूको बच्चा सरोगेसीका माध्यमबाट भएको पनि जानकारी दिएकी छन्।
उनीहरू छोरीका आमाबुवा बनका हुन्।
गत शुक्रबार मात्र जानकारी दिए पनि उनीहरूको छोरीको जन्म जनवरी १५ मै भएको सञ्चारमाध्यमहरूले जनाएका छन्।
टाइम्स अफ इन्डियाका अनुसार आफ्नो सन्तान आगमनको तयारी भने उनीहरूले पहिल्यैदेखि गर्दै आएका थिए।
प्रियंका र निकले लामो समयदेखि लसएन्जलसस्थित आफ्नो घर मर्मत र साजसज्जामा विशेष ध्यान दिइरहेका थिए। घरको वातावरण र बनावट शैली पारिवाररमैत्री बनाउने प्रयास भइरहेको पनि टाइम्स अफ इन्डियाले जनाएको छ।
आफ्नो सन्तानलाई सहज हुने खालको घर बनाउन उनीहरूले लाखौं खर्चेको पनि बताइएको छ।
यो घर उनीहरूले दुई वर्षअगाडि किनेका हुन्। यो घरको मूल्य २ करोड डलरभन्दा बढी पर्ने बताइएको छ। प्रियंका र निकको यो घर त्यो क्षेत्रको महँगो घरमध्ये पर्छ।
यो घरमा सात वटा सुत्ने कोठा, ११ वटा बाथरूम र पर्याप्त खुल्ला स्थान छ।
उनीहरूले यहाँ घर किन्दै परिवार बढाउने योजना बनाइरहेका थिए। त्यसैले घर फराकिलो, खुला र हरियाली भएको होस् भन्ने उनीहरू चाहन्थे।
किन्नेबेलामा भनेजस्तो नभएका थुप्रै कुराहरू उनीहरूले पछि थप्दै, बनाउँदै गएका हुन्। यो काममा महिनौं खर्च भएको थियो।
प्रियंका र निकले लामो समयदेखि बच्चा जन्माउने योजना बनाइरहेको पनि इन्डिया टुडेले जनाएको छ। तर कामको व्यस्तताले उनीहरूले यो योजना धकेल्दै आएका थिए। पछि उनीहरूले एक एजेन्सीमार्फत् सरोगेसीबाट बच्चा जन्माउने निधो गरेका हुन्।
उनीहरूले सरोगेसीका लागि साउदर्न क्यालिफोर्नियाकै एक महिलाको सहयोग लिएको पनि इन्डिया टुडेले लेखेको छ।
स्रोतका अनुसार ३९ वर्षीया प्रियंकालाई आफैं बच्चा जन्माउन स्वास्थ्यका कारण कुनै समस्या नभए पनि व्यस्तताका कारण उनले सरोगेसी रोजेकी हुन्।
निक र प्रियंकाले सन् २०१८ मा बिहे गरेका हुन्। प्रियंका आफ्नो अभिनय करिअर सिलसिलामा अमेरिका पुगेपछि उनीहरूको भेट भएको थियो। उनीहरूको भेट सन् २०१७ को 'मेट गाला' मा भएको थियो।
यसलगत्तै सन् २०१८ अगस्टमा उनीहरूको इंगेजमेन्ट भएको थियो भने त्यही साल डिसेम्बरमा उनीहरूले क्रिस्चियन र पन्जाबी परम्परा अनुसार बिहे गरेका थिए।
प्रियंका हालै हलिउड फिल्म 'द म्याट्रिक्स रिसरेक्सन्स' मा सतीको भूमिकामा देखिएकी थिइन्। फिल्ममा उनको भूमिका छोटो भए पनि महत्वपूर्ण थियो। उनी आफ्ना श्रीमान तथा देवरहरूको समूह 'जोनास ब्रदर्स' का गीतका भिडिओहरूमा पनि खेलिरहेकी छन्।
प्रियंका अब अमेजनको सिरिज 'सिटाडेल', हलिउड फिल्म 'टेक्स्ट फर यु' का साथै बलिउड फिल्म 'जी ले जरा' मा देखिँदैछिन्।