बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकीले मुम्बईमा बंगला बनाएका छन्। नवाजुद्दिनले मुम्बईमा आफ्नै तरिकाले यो घर बनाएका हुन्।
भारतीय सञ्चारमाध्यम एनडिटिभीका अनुसार यो घर बनाइसक्न तीन वर्ष लागेको हो। यो घरको संरचना र बनावट नवाजुद्दिनको गाउँको पुरानो घरसँग मिल्दोजुल्दो रहेको पनि एनडिटिभीले लेखेको छ।
नवाजुद्दिन आफैं इन्टेरियर डिजाइनरहरूसँग बसेर डिजाइनको काममा सरिक भएका थिए। यो बंगलाको मूल डिजाइन नवाजुद्दिन आफैंले गरेको बताइएको छ।
उनले यो बंगलाको नामकरण पनि गरेका छन्- नवाब।
नवाब नवाजुद्दिनका बुवाको नाम हो। बुवाको सम्झनामा यो घर बनाएकाले यसलाई उनले बुवाकै नाम दिएका हुन्। उनका बुवाको सन् २०१५ मा ७२ वर्षको उमेरमा निधन भएको थियो।
सन् १९९९ मा 'सरफरोश' र 'शूल' जस्ता फिल्ममा सानो भूमिकाबाट बलिउड प्रवेश गरेका नजाजुद्दिनले एक दशकसम्म साना भूमिकामै अभिनय गरेर चित्त बुझाउनु परेको थियो।
बलिउड 'हिरो' मा हुने सुन्दर अनुहार, सुगठित शरीर, नाच्न जान्ने केही गुण नभएका उनलाई बलिउडमा स्थापित हुने लामो समय लाग्यो।
सन् २०१० मा 'पिप्ली लाइभ' र २०११ मा 'पतंग: द काइट' जस्ता फिल्ममा उनी अलि लामा भूमिकामा देखिए। सन् २०११ मा 'देख इन्डियन सर्कस' फिल्मले उनलाई उत्कृष्ट अभिनेताको पुरस्कार दिलायो। सन् २०१२ को 'तलाश', 'कहानी' र 'ग्यांग्स अफ वासेपुर' जस्ता फिल्मले उनको करिअरलाई नै नयाँ उचाइ दियो।
त्यसपछिका वर्षमा अभिनय गरेका धेरै फिल्मले उनी निरन्तर निर्देशक, दर्शक र समीक्षकहरूको मन जित्न सफल छन्। देशभित्र र बाहिरका धेरै फिल्म महोत्सवमा उनको अभिनयको तारिफ भइरहेको छ।
हालै मात्र सुधिर मिश्राको 'सिरियस मेन' फिल्मबाट नवाजुद्दिन इन्टरनेसनल एमी अवार्ड्समा उत्कृष्ट अभिनेताका रूपमा मनोनयनमा परेका छन्।
फिल्मको कुरा गर्दा नवाजुद्दिन अभिनेत्री कंगना रनावतको निर्देशनमा बन्न लागेको पहिलो फिल्म 'टिकू वेड्स शेरू' मा मुख्य भूमिकामा अभिनय गर्दैछन्। त्यस्तै उनका थप नयाँ फिल्म 'जोगिरा सरर', 'बोले चुडिया' र 'हिरोपन्ती २' पनि आउँदैछन्।