तेलगु भाषामा बनाइएको दक्षिण भारतीय फिल्म ‘आरआरआर’ले मार्च २५ लाई नयाँ प्रदर्शन मिति तोकेको छ ।
यसअघि जनवरी ७ मा रिलिज हुने भनिएको चलचित्र कोरोना संक्रमणको तेस्रो लहर शुरू भएपछि पछि सरेको थियो। त्यसपछि यो चलचित्रको निर्माणपक्षले कोरोना संक्रमण कम भएर हल खुलेको अवस्थामा मार्च १८ र नभए अप्रिल २८ बाट प्रदर्शन गर्ने गरी दुई वटा मिति तय गरेको थियो।
तर अब यो चलचित्र मार्च २५ मा रिलिज हुने भएको छ।
बाहुबली फिल्मका निर्देशक एसएस राजामौलीको निर्देशनमा बनेको उक्त फिल्मलाई यस वर्षको सबैभन्दा बढी बहुप्रतीक्षित फिल्म मानिएको छ।
डीभीभी इन्टरटेन्मेन्टको लगानी रहेको फिल्ममा दक्षिण भारतका चर्चित अभिनेताद्वय जुनिअर एनटीआर र रामचरणको प्रमुख भूमिका छ। फिल्ममा अजय देवगनका साथै आलिया भट्टको पनि अभिनय देख्न सकिन्छ।
चार सय करोड भारुमा बनाइएको फिल्म निर्माणबारे सन् २०१८ को मार्चमै घोषणा गरिएको थियो। फिल्मको मुख्य छायांकन नोभेम्बर २०१८ मा हैदरावादबाट भएको थियो। फिल्मका केही दृश्य बुल्गेरियार युक्रेनमा पनि छायांकन गरिएको जनाइएको छ।
अजय देवगन र आलिया भट्टले 'आरआरआर' बाट कति पैसा पाए?
एसएस राजामौलीको बहुप्रतिक्षित फिल्म 'आरआरआर' भारतकै सबभन्दा महँगो फिल्म हो। साढे चार सय करोड भारूमा बनेको यो फिल्मका कलाकारको पारिश्रमिक पनि कम महँगो छैन।
आरआरआरमा मुख्य भूमिका निर्वाह गरेका दक्षिण भारतीय अभिनेताद्वय रामचरण र एनटिआरले यो फिल्मका लागि ४५ करोड भारू जति पारिश्रमिक लिएको केही भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्। तर यसबारे अभिनेताद्वय र निर्देशक कसैले पनि पुष्टि गरेका छैनन्।
फिल्ममा बलिउड अभिनेता अजय देवगन र अभिनेत्री आलिया भट्ट पनि प्रमुख भूमिकामा देखिएका छन्। तर पूरा फिल्ममा उनीहरूको भूमिका समय कम छ।
बलिउड हंगामाका अनुसार फिल्ममा आलियाको भूमिका २० मिनेटभन्दा कम छ। अजयले आफ्नो ८ मिनेटको भूमिकाका लागि आरआरआर टोलीलाई जम्मा ७ सात दिनको समय दिएका थए।
यति कम समय र भूमिका भए पनि यी दुई कलाकारले एकदमै धेरै पारिश्रमिक पाएको हंगामा लेख्छ।
हंगामाले बलिउड स्रोतलाई उद्धृत गर्दै लेखेको छ- आलियाले यो फिल्ममा छोटो भूमिकाका लागि बलिउडमा सिंगै फिल्म खेले बराबरको पारिश्रमिक पाएकी छन्। उनको भूमिका छोटो भए पनि उनी फिल्मकी मुख्य अभिनेत्री हुन्। उनले आरआरआरबाट ९ करोड भारू पारिश्रमिक लिएकी छन्।
आलिया फिल्ममा सीता पात्रको भूमिकामा छिन्।
हंगामाका अनुसार अजय देवगनले त अझै धेरै पारिश्रमिक पाएका छन्। अजयको भूमिका फिल्ममा आलियाको जति पनि छैन। फिल्मको कथा र भूमिका हेर्ने हो भने उनी यसमा 'गेस्ट अपिरियन्स' मात्र हुन्।
उनले यो फिल्मलाई सात दिन खर्चिँदा ३५ करोड भारू पारिश्रमिक लिएको हंगामाले लेखेको छ।
अजय र आलियालाई यति धेरै पैसा दिएकोबारे आरआरआर निर्माण टोलीका एक सदस्यको भनाइ उद्धृत गर्दै हंगामाले लेखेको छ, 'अजय र आलिया बलिउड र उत्तरी भारतबाट दर्शक तान्ने कलाकार हुन्। दक्षिण भारतीय फिल्मका लागि यी कलाकार राख्नु फाइदा हुन्छ। बाहुबली जस्तो ऐतिहासिक फिल्मका निर्देशक एसएस राजामौलीको फिल्म भन्नु पनि कम प्रचार हुन्थेन, तर यो काफी हुन्थेन होला।'