बलिउड अभिनेत्री करिना कपुर खान र अभिनेता अक्षय कुमार राम्रा साथी हुन्। उनीहरूले सँगै आधा दर्जनभन्दा बढी फिल्ममा अभिनय पनि गरेका छन्। र, उनीहरूका सबैजसो फिल्म सफल भएका छन्।
हालसालै अक्षयकी श्रीमती ट्विंकल खन्ना र करिना कपुर एउटा कार्यक्रममा देखापरेका थिए। ट्विक इन्डिया नामक कार्यक्रमको कुराकानी सत्रमा उनीहरूले आफ्नो घर, काम, स्वास्थ्यदेखि लगभग सबै विषयमा कुराकानी गरेका थिए।
बलिउड लाइफका अनुसार यही क्रममा करिनाले अक्षयका बारेमा पनि केही खुलाएका थिइन्। करिनाले आफू र सैफ अली खानले 'डेटिङ' गर्न थालेपछि अक्षयले दिएको चेतावनीबारे बताएकी हुन्।
करिना र सैफको सम्बन्ध फिल्म 'टसन' देखि अगाडि बढेको हो। सन् २००८ मा रिलिज यो फिल्ममा करिना र सैफसँगै अक्षय कुमार पनि मुख्य भूमिकामा थिए।
करिनाका अनुसार अक्षयले सैफलाई करिनासँग होस पुर्याएर व्यवहार गर्नु भन्दै चेतावनी दिएका थिए। उनले करिना कपुर खतरनाक परिवारबाट आएकी भन्दै विचार पुर्याएर मात्र व्यवहार गर्न भनेका थिए।
'उसले मसँग जे पायो त्यही, अन्टसन्ट व्यवहार नगर्न भनेर चेतावनी दिएको थियो,' अक्षयले आफ्ना श्रीमान सैफलाई भनेका कुरा करिनाले अक्षयकी श्रीमती ट्विंकललाई भनिन्, 'उसले ठिकै गर्यो।'
करिना कपुर र सैफको भेट हुँदा करिनाको शाहिद कपुरसँगको लामो सम्बन्ध भर्खरै टुटेको थियो। सैफसँग लद्दाखमा सुटिङ हुँदा आफूहरू कसरी नजिक भएको भन्नेबारे पनि करिनाले बताएकी थिइन्।
उनका अनुसार सैफ उनलाई मोटरसाइकलमा राखेर लामो यात्रामा लैजान्थे। उनीहरू घन्टौं गफ गर्थे। यसको लगत्तै उनीहरूले डेटिङ गरे। केही महिनापछि सैफले करिनाकी आमा बबितासँग करिनालाई आफूसँगै बस्ने अनुमति मागेका थिए।
करिब चार वर्ष प्रेम सम्बन्धमा रहेपछि सन् २०१२ मा आएर उनीहरूले बिहे गरेका हुन्। उनीहरूका अहिले दुई छोरा छन्।