तेलेगू फिल्म दुनियाँ सुपरस्टार मानिने रामचरणले यो उद्योगभन्दा बाहिरका फिल्म बिरलै खेलेका छन्।
यिनै बिरलैमध्ये एक हो बलिउड फिल्म 'जञ्जीर'। सन् २०१३ मा आएको यो फिल्ममा उनी अभिनेत्री प्रियंका चोपडासँग देखिएका थिए।
प्रहरीको भूमिकामा देखिएका रामचरण र प्रियंकासँगै फिल्ममा सञ्जय दत्त, प्रकाश राज, अतुल कुलकर्णी, माही गिल लगायतको पनि मुख्य भूमिका थियो।
अपूर्व लाखियाको निर्देशनमा बनेको जञ्जीर अमिताभ बच्चनको यही नामको पुरानो फिल्मको रिमेक हो।
दक्षिण भारतमा तहल्का मच्चाउन सफल र लाखौं दर्शकको मन जितेका रामचरणले यो फिल्ममार्फत् बलिउडमा डेब्यु गरे। निर्मातादेखि दर्शकसम्मले यो फिल्म सफल हुने आश गरेका थिए।
तर अमिताभको जमानामा आएको जञ्जीर सुपरहिट भए पनि नयाँ जञ्जीरले पुरानोजसरी दर्शकको मन जित्न सकेन।
पहिलो फिल्ममै असफलता हात परेपछि रामचरणले अर्को बलिउड फिल्म अहिलेसम्म खेलेका छैनन्। करिब एक दशक अवधिमा पनि उनले हिन्दी फिल्ममा फर्किने सोच बनाएनन्।
तर अब उनको सोच बदलिने संकेत देखिएको छ।
इन्डियन एक्सप्रेसका अनुसार उनलाई यसबारे धेरैले प्रश्न गरिरहन्छन्। यही क्रममा रामचरणले भनेका छन्, 'खास त्यस्तो केही होइन। म धेरै बलिउड फिल्महरू हेर्छु र मलाई मनपर्छ पनि। अब अहिले एसएस राजामौली र एनटिआरसँग आरआरआरमा काम गरेँ। सायद अब हामी बलिउड फिल्म पनि गर्न तयार छौं।'
तेलेगू कलाकार र निर्माण टोलीले बनाएको भए पनि आरआरआर हिन्दी पनि उत्तिकै भएको बताएका छन्। भारतकै कथामा आधारित भएकाले क्षेत्रीय र धार्मिक आस्थाले यो फिल्मलाई कुनै असर नपार्ने उनको भनाइ छ।
'राजामौलीजस्ता थुप्रै फिल्म निर्माता/निर्देशकहरूलाई धन्यवाद दिनुपर्छ। उनीहरूका कारण हामी फिल्ममा क्षेत्रीयपन हेर्न छाडेर देशव्यापी भएका छौं। दक्षिण भारत र उत्तरी भारतबीच फिल्मी दुनियाँमा भएको पर्खाल तोडिएको छ। अब हामी सबै भारतीय फिल्म भएका छौं। यसले हामीलाई ज्यादै खुसी दिएको छ,' उनका भनाइ उद्धृत गर्दै इन्डिया टुडेले लेखेको छ।
त्यसैकारण उनी जुन भाषामा फिल्म खेले पनि केही फरक नपर्ने बताउँछन्। आफूले गर्ने फिल्म सही हुनुपर्ने मान्यता आफूमा रहेको भन्दै उनले बलिउड फिल्मबाट आफू नपन्छिएको बताएका छन्।
साढे चार सय करोडभन्दा बढीमा बनेको भारतकै सबभन्दा महँगो फिल्म करिब तीन-चार वर्षमा बनेको हो। यसमा रामचरणसँगै प्रमुख भूमिकामा जुनियर एनटिआर छन्। बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता अजय देवगनको भूमिका फिल्ममा छोटो भए पनि महत्त्वपूर्ण रहेको बताइएको छ।
लामो समयदेखि रिलिजको पर्खाइमा रहेको आरआरआर गत जनवरी ७ मा रिलिज हुने भने पनि कोरोनाका कारण यसको मिति सर्यो। अब यो फिल्म आगामी मार्च २५ मा रिलिज हुने भनिएको छ।