कोरोना भाइरसका कारण भारतीय फिल्महरूलाई रिलिजको मिति पाउन मुश्किल परिरहेको छ। मिति तय भए पनि अर्को फिल्मसँग जुध्ने भएकाले थुप्रै फिल्महरू सरेका सर्यै छन्।
यसमा पनि साना बजेटका फिल्मले ठूला फिल्मबाट जोगिने हरसम्भव प्रयास गरिरहेका छन्। अहिले रिलिजको मुखमा रहेको भारतकै सबभन्दा महँगो फिल्म 'आरआरआर' ले धेरै फिल्मलाई तर्साएकै छ। कार्तिक आर्यनको 'भुलभुलैया २' को हालै यसकै कारण मिति सरिसक्यो।
अझ पछिल्लो समय दक्षिण भारतीय फिल्मले पूरा भारतका सिनेमा हलमा हंगामा मच्चाएपछि बलिउड फिल्महरूलाई चुनौती नै भएको छ।
कोरोनाका कारण लामो समय थन्किएका बलिउड फिल्महरू रिलिजको लाइनमा छन्। यीसँगै उत्तरी भारतका हलमा पनि रिलिज हुने थुप्रै दक्षिण भारतीय फिल्म छन्।
'आरआरआर', 'राधे श्याम', 'आचार्य' जस्ता केही ठूला बजेटका दक्षिण भारतीय फिल्म सर्दैसर्दै नयाँ मितिमा रिलिज हुने भएका छन्। 'केजिएफ २' जस्ता अरू फिल्म पनि पाइपलाइनमा छन्।
यस्तैमा अजित कुमारको नयाँ फिल्म 'भलिमाइ' यही फेब्रुअरी २४ मा रिलिज हुने भएको छ। बोनी कपुरले ट्विट गर्दै यसबारे जानकारी दिएका हुन्।
यो फिल्मसँग सञ्जयलीला भन्सालीको फिल्म भिड्ने देखिएको छ।
आलिया भट्टको मुख्य भूमिका रहेको 'गंगुबाइ कथियावाडी' फेब्रुअरी २५ मा रिलिज हुँदैछ। एक दिन अघिपछि रिलिज हुने यी दुई फिल्मको भिडन्त बक्सअफिसमा हुनेछ।
यसअघि गंगुबाइ जनवरीमा रिलिज हुने भनिएको थियो। तर आरआरआरसँग भिड्ने देखिएपछि सञ्जयलीला भन्सालीले मिति सारेका थिए। उनले फेब्रुअरी १८ को मिति तोकेका थिए। तर फेरि पछि फेब्रुअरी २५ मा रिलिज गर्ने घोषणा गरेका हुन्।
भलिमाइ र गंगुबाइ दुवै बहुप्रतिक्षित फिल्म हुन्। बक्स अफिसमा कसले धेरै बाजी मार्छ भन्ने अब दुवै फिल्म सँगसँगै रिलिज भएपछि मात्र थाहा हुनेछ।