भारतीय पूर्व क्रिकेटर महेन्द्र सिंह धोनीलाई अब वेब सिरिजमा देखिने भएको छ।
'अथर्वः द ओरिजिन' नामको यो सिरिजमा उनलाई मुख्य भूमिकामा देख्न सकिने भएको हो। अमेजन प्राइमले निर्माण गरेको अथर्व ग्राफिक नोभल हो। यसमा मुख्य पात्र अथर्व धोनीको अवतारमा छन्।
धोनीले आफ्नो सामाजिक सञ्जालमार्फत् अथर्वको पोस्टर सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन्।
निर्माताहरूले माइथोलोजिकल साइ-फाइ सिरिज अथर्वलाई नयाँ युगको ग्राफिक नोभल (उपन्यास) भनेर प्रचार गरेका छन्। यसका मुख्य पात्रलाई ग्राफिक्समार्फत् धोनीको अवतारमा ढालिएको छ।
क्रिकेट मैदानमा चमत्कार गरेर नाम कमाएका धोनीलाई अथर्वमा भने युद्ध मैदानमा देख्न सकिनेछ। एनिमेसन मार्फत् उनको अनुहार र शरीरलाई एक बलियो योद्धाका रूपमा ढालिएको छ।
अथर्वको टिजरमा उनी मैदानमा राक्षस सेनाहरूसँग लडाइँ गरिरहेका देखिन्छन्।
सामाजिक सञ्जालमा अथर्वको पोस्टर राख्दै धोनीले लेखेका छन्- अथर्वका रूपमा मेरो नयाँ अवतार सार्वजनिक गर्न पाउँदा खुसी लागेको छ।
यो सिरिज लेखक रमेश थमिलमणिको अप्रकाशित किताब 'अथर्वः द ओरिजिन' मा आधारित छ।
सन् २०१६ मा धोनीको बायोपिक पनि आएको थियो। 'एम धोनीः द अनटोल्ड स्टोरी' फिल्ममा स्वर्गीय अभिनेता सुशान्तसिंह राजपूतले धोनीको भूमिका निर्वाह गरेका थिए। यो फिल्म हिट भएको थियो।
अहिले धोनीलाई योद्धाका रूपमा पर्दामा देखिने भएपछि उनका प्रशंसकहरू निकै उत्साहित भएका छन्। एनिमेसन नै भए पनि क्रिकेट मैदानमा लडिरहेका धोनीलाई युद्ध मैदानमा योद्धाका रूपमा देख्दा धोनीका प्रशंसक र अरूलाई पनि उत्साहित बनाइरहेको छ।
अब यो सिरिजले कस्तो बन्छ र यसले कस्तो प्रतिक्रिया पाउँछ भन्ने हेर्न त केही समय कुर्नैपर्छ।