बिआर चोपडा निर्देशित 'महाभारत' श्रृंखलामा भिमको भूमिका निर्वाह गरेका चर्चित भारतीय कलाकार प्रविन कुमार सोब्तीको निधन भएको छ।
प्रविन ७५ वर्षका थिए। उनकी छोरी निकुलेनिकाले इन्डियन एक्सप्रेसलाई उनको निधनबारे जानकारी दिएकी हुन्।
'उहाँ हिजो (सोमबार) राती साढे नौ बजेतिर बित्नुभयो। उहाँलाई हृदयाघात भएको थियो। उहाँ दिल्लीस्थित आफ्नै घरमा बित्नुभयो,' उनकी छोरीले भनिन्।
भिमको भूमिकामा प्रविनले महाभारतमार्फत् निकै चर्चा कमाएका थिए। यतिसम्म कि उनलाई प्रविनका नामले कमैल चिन्थे। उनको पहिचान नै भिम थियो।
प्रविनले महाभारतबाहेक थुप्रै फिल्ममा पनि अभिनय गरेका छन्।
उनले अमिताभ बच्चनको फिल्म 'शेहन्शा', धर्मेन्द्रको 'लोहा' लगायत फिल्ममा उल्लेख्य भूमिका निर्वाह गरेका छन्। यीबाहेक 'आज का अर्जुन', 'अजूबा', 'घायल' मा पनि उनलाई देख्न सकिन्छ।
अभिनयसँगै प्रविन खेलकुदमा पनि सक्रिय थिए। उनी ह्यामर र डिसकस फ्याँक्ने खेल खेल्थे र चारपटक एसियन गेमहरूमा पदक पनि जितेका थिए। यसमा दुइटा स्वर्ण पदक पनि थिए।
सन् १९६८ मा उनले भारतलाई प्रतिनिधित्व गर्दै मेक्सिको र सन् १९७२ मा म्युनिक ओलम्पिक्समा सहभागिता जनाएका थिए।
उनलाई अर्जुन अवार्डबाट पनि सम्मानित गरिएको थियो।
त्यस्तै प्रविनले सीमा सुरक्षा बल (बिएसएफ) मा डेपुटी कमान्डेन्टका रूपमा पनि काम गरेका थिए।
बिएसएफको आधिकारिक ट्विटर ह्यान्डलबाट प्रविनको निधनमा शोक व्यक्त गर्दै श्रद्धाञ्जली दिइएको छ।
प्रविन सन् २०१३ मा दिल्ली संसद चुनावमा आम आदमी पार्टीका तर्फबाट लडेका पनि थिए।