केही वर्षयता प्रेम सम्बन्धमा रहेका अभिनेता फरहान अख्तर र अभिनेत्री शिवानी डन्डेकरले बिहे गरेका छन्।बलिउड लाइफका अनुसार शनिबार उनीहरूले बिहे गरेका हुन्।
उनीहरूको बिहे भारत, खन्डालामा रहेको अख्तर परिवारको फार्म हाउसमा भएको हो। फरहान र शिवानी करिब चार वर्षदेखि प्रेम सम्बन्धमा थिए।
फरहान-शिवानीको बिहेमा ऋतिक रोशन, अमृता अरोरा, अनुषा डन्डेकर, रिया चक्रवर्ती लगायत कलाकारको उपस्थिति थियो।
शिवानी अभिनयबाहेक गायन, मोडलिङ र उद्घोषणमा सक्रिय छन्। फरहानले सन् २०१६ मा सेलेब्रेटी हेयरस्टाइलिस्ट अधुना भवानीसँगको १६ वर्षे लामो वैवाहिक सम्बन्ध टुंग्याएका थिए। उनीहरूका दुई छोरी छन्।
कामको कुरा गर्दा फरहान 'जी ले जरा' निर्देशन गर्ने तयारीमा छन्। सन् २०११ मा 'डन २' फिल्मको निर्देशनपछि फरहान अब जी ले जरा फिल्मबाट निर्देशकका रूपमा फर्किन लागेका हुन्।
यो फिल्ममा प्रियंका चोपडा, कटरिना कैफ र आलिया भट्टको मुख्य भूमिका हुनेछ। पोस्टरमा प्रियंका, आलिया र कटरिनाको नामसँगै भारतका विभिन्न ठाँउको चित्रबाट बनेको गाडी देख्न सकिन्छ। यसले पुरानो चर्चित फिल्म दिल चाहता है र जिन्दगी ना मिलेगी दोबारा फिल्मजस्तै झलक दिएको हिन्दुस्तान टाइम्सले बताएको छ।