बलिउड निर्देशक, अभिनेता तथा गायक फरहान अख्तरले बिहे गरेको तीन साता हुन लाग्यो। उनले आफ्ना निकट साथीहरू र परिवारको उपस्थितिमा अभिनेत्री शिवानी डन्डेकरसँग बिहे गरेका हुन्।
उनीहरूको बिहे भारत, खन्डालामा रहेको अख्तर परिवारको फार्म हाउसमा भएको हो। फरहान र शिवानी करिब चार वर्षदेखि प्रेम सम्बन्धमा थिए।
फरहान-शिवानीको बिहेमा ऋतिक रोशन, फराह खान, अमृता अरोरा, अनुषा डन्डेकर, रिया चक्रवर्ती लगायत कलाकारको उपस्थिति थियो।
बिहेपछि यो जोडीको निकै चर्चा भइरहेको छ। उनीहरूलाई धेरैले बधाइ पनि दिइरहेका छन्।
यही क्रममा फराह खानले उनीहरूलाई सामाजिक सञ्जालमा पनि बधाइ दिएकी छन्।
उनले आफ्नो सामाजिक सञ्जालमा फरहान र शिवानीको बिहे फोटो राख्दै लेखेकी छन्- 'बुहारी शिवानी डन्डेकर #विमेनइनलभ'।
फराहको यही पोस्ट आफ्नो इन्स्टाग्राममा राख्दै शिवानीले लेखेकी छन्, 'तपाईंलाई धेरै धेरै माया। मैले फरहानसँग बिहे गरेको कारण नै तपाईंको बुहारी हुनलाई हो।'
फरहान र फराह दिदीभाइ पर्छन्। फराहकी आमा मेनका र फरहानकी आमा हनी इरानी दिदी बहिनी हुन्। अभिनेत्री समेत रहेकी हनीसँग फरहानका बुवा जावेद अख्तरको सम्बन्ध टुटिसकेको छ। जावेदले अभिनेत्री सबाना आज्मीसँग बिहे गरेका छन्।
शिवानी अभिनयबाहेक गायन, मोडलिङ र उद्घोषणमा सक्रिय छन्।
फरहानले सन् २०१६ मा सेलेब्रेटी हेयरस्टाइलिस्ट अधुना भवानीसँगको १६ वर्षे लामो वैवाहिक सम्बन्ध टुंग्याएका थिए। उनीहरूका दुई छोरी छन्।
कामको कुरा गर्दा फरहान 'जी ले जरा' निर्देशन गर्ने तयारीमा छन्। सन् २०११ मा 'डन २' फिल्मको निर्देशनपछि फरहान अब जी ले जरा फिल्मबाट निर्देशकका रूपमा फर्किन लागेका हुन्।
यो फिल्ममा प्रियंका चोपडा, कटरिना कैफ र आलिया भट्टको मुख्य भूमिका हुनेछ।