निर्देशक विवेक अग्निहोत्रीको फिल्म ‘द कश्मीर फाइल्स’ चर्चामा छ। रिलिजसँगै फिल्मले केही कीर्तिमानसमेत बनाएको छ।
थिएटरमा रिलिज हुनुअघि नै विवादमा आएको यो फिल्म लामो समयदेखि चर्चाको विषय बनेको थियो।
यही साता रिलिज भएको फिल्मले दैनिक रूपमा अपेक्षाभन्दा राम्रो व्यापार गरिरहेको छ। यसै क्रममा चलचित्रले आइतबार करिब १४ करोडको कारोबार गरेको छ।
आइतबारको कमाईपछि ‘द कश्मीर फाइल्स’ कोरोना अवधिको पहिलो ब्लकबस्टर फिल्म बनेको छ। १४ करोडको लागतमा बनेको फिल्मले पहिलो दिन अर्थात शुक्रबार ३.२५ करोड कमाएको थियो । त्यस्तै, शनिबार आफ्नो कमाई शतप्रतिशत बढाउँदै ८.२५ करोड कलेक्सन गरेको थियो।
यसपछि आइतबार सबै रेकर्ड तोड्दै ‘द कश्मीर फाइल्स’ले सबै विवाद र आलोचनाका बाबजुद १४ करोड रुपैयाँ कलेक्सन गरेको हो।
साउथ सुपरस्टार प्रभासको फिल्म ‘राधेश्याम’ सँगै रिलिज भएको यो फिल्म देशका सिमित स्क्रिनमा रिलिज भएको थियो। फिल्मले सुरुमा ६५० स्क्रिन मात्र पाएको थियो । तर यसको बढ्दो लोकप्रियतालाई ध्यानमा राख्दै अहिले फिल्मको स्क्रिन काउन्ट २ हजार पुगेको छ।
द्रूत गतिमा चलिरहेको फिल्मको कलेक्शन हेर्दा ‘द कश्मीर फाइल्स’लाई दर्शकले निकै रुचाएका छन्।
यसैबीच 'द कश्मीर फाइल्स' लाई कर्नाटक, हरियाणा, गुजरात र मध्यप्रदेश सरकारले कर फ्री गरेको छ।
विवेक अग्निहोत्रीले निर्देशन गरेको यस फिल्ममा मिथुन चक्रवर्ती, अनुपम खेर, दर्शन कुमार, पल्लवी जोशी जस्ता धेरै ठूला कलाकारको अभिनय रहेको छ। फिल्मले कश्मीरी पण्डितमाथि हुने अत्याचारको कथालाई चित्रण गरेको छ । यस बाहेक विवेक अग्निहोत्री र सौरभ पाण्डेले मिलेर लेखेको फिल्ममा धारा ३७० देखि कश्मीरको इतिहासको चर्चा गरिएको छ।