दक्षिण भारतीय कलाकार अल्लू अर्जुन र रश्मिका मन्दाको सुपरहिट फिल्म ‘पुष्पाः द राइज’ को दोस्रो सिक्वेल आउने भएको छ।
फिल्म निर्माताका अनुसार दोस्रो भागको स्क्रिप्टमा केही परिवर्तन गर्ने भएका छन्। हिन्दी भाषाका दर्शकलाई लक्षित गरेर निर्माण पक्षले स्क्रिप्ट परिवर्तन गर्न लागेका हुन्।
भारतीय सञ्चार माध्यमका अनुसार निर्देशक सुकुमार पहिला ‘पुष्पा’लाई दुई भागमा बनाउने योजनामा थिए । तर पछि ‘पुष्पाः द राइज’ र ‘पुष्पाः द रूल’ को रुपमा प्रस्तुत गर्न स्क्रिप्टमा कैयौं परिवर्तन गरेका थिए।
अहिले उनले ‘पुष्पाः द रुल’ का लागि स्क्रिप्टमा केही परिवर्तन गरिरहेका छन्। दर्शकमाझ आफ्नो प्रभाव छोड्नका लागि सिक्वेलको कथामा केही ट्वीस्ट ल्याउने निर्माण पक्षले दाबी गरेको छ।
अल्लू, सुकुमार र उनको टिमले ‘पुष्पा २’ को सुटिङ सुरू गर्ने तयारी थालिसकेका छन्। फिल्मको दोस्रो भागमा अल्लूलाई एक झगडालु व्यक्तिको रुपमा प्रस्तुत गरिनेछ ।
पहिलो भागमा पुष्पा रक्त चन्दनको तस्करी गर्दै पुरा सिन्डिकेटको मालिक बनेको कथा थियो।
भरपुर एक्सन रहेको पुष्पाको पहिलो भाग गत डिसेम्बर १७ मा रिलिज भएको थियो। निर्माण पक्षका अनुसार यो वर्षको अन्त्यसम्ममा दोस्रो भाग सिनेमाघरमा आउनेछ।
दक्षिण भारतबाट आएको पछिल्लो हटकेक सिनेमा 'पुष्पा' मा आखिर के छ?
के यो प्रेम कहानी हो? के यसमा बाहुबलीजस्तै हुरूक्कै पार्ने कल्पनाशीलता छ?
झट्ट नाउँ सुन्दा 'पुष्पा' प्रेम कहानी हो कि भन्ने लाग्न सक्छ। जसरी यसलाई बाहुबलीकै शैलीमा अल-इन्डिया रिलिज गरियो, त्यस आधारमा यो फिल्ममा पनि बाहुबलीजस्तै भरपुर कल्पनाशीलताको स्वाद लिन पाइन्छ कि भन्ने पनि लाग्न सक्छ।
तर यो फिल्मले दुवै कल्पना पूरा गर्दैन।
पुष्पामा प्रेम त छ तर पूरा फिल्म प्रेममा आधारित छैन। बाहुबलीमा जस्ता अद्भूत पात्रहरू पनि यसमा छैनन्।
यो फिल्मको विशेषता भनेकै यसका साधारण पात्र हुन्। गाउँमा दाउरा काटेर गुजारा गर्ने मान्छे र त्यो दाउरा तस्करी गर्ने आपराधिक गिरोह वरिपरि फिल्म घुमेको छ।
पुष्पाको मुख्य पात्र अर्थात् अल्लु अर्जुनले हाम्रो समाजको त्यो वर्गको प्रतिनिधित्व गर्छ जो समाजबाट हेपिएको छ, पिछडिएको छ। उसले समाजमा आफ्नो पहिचान प्राप्तिको निम्ति गर्ने लडाइँ नै फिल्मको मुख्य कथावस्तु हो।
अर्थात्, 'पुष्पा' फिल्म आफ्नो नामजस्तो पुष्पै पुष्पले भरिएको छैन, बरू यसले पुष्प वरिपरि उम्रेको समाजका काँडाहरूको धार उजागर गर्छ।
यो फिल्मको कथा रक्तचन्दन तस्करीमा आधारित छ। रक्तचन्दन तस्करीको विषय हामी नेपालमा पनि धेरै सुन्ने गर्छौं। चिनियाँ बजारमा तस्करी हुँदै गरेका ठूला परिमाणका रक्तचन्दन बरामद भएका समाचार हामी बेलाबेला सुन्छौं। यो फिल्मले दक्षिण भारतको एउटा जंगलबाट चेन्नईको समुद्री बन्दरगाह हुँदै चीन र जापानसम्म तस्करी हुने रक्तचन्दनको कथा भन्छ।
गाउँका जमिनदारको 'अवैध' सम्बन्धबाट जन्मिएका पुष्पराज (अल्लु अर्जुन) र उनकी आमा परिवारभित्रै हेपिएका छन्। बाबुको पारिवारिक इतिहास गौरवपूर्ण भए पनि उनलाई त्यो इतिहासको हिस्सेदार बन्नबाट वञ्चित गरिन्छ। उनी साना-मसिना काम गर्दै आफ्नो गुजारा चलाउँछन्। यही क्रममा रक्तचन्दन तस्करी गर्ने ठूलो गिरोहसँग उनी जोडिन पुग्छन् र त्यहीँबाट आपराधिक दुनियाँमा उनको प्रवेश हुन्छ।
सर्सर्ती सुन्दा फिल्मको कथावस्तुमा नयाँपन छैन। यो 'नयाँ बोतलमा पुरानो रक्सी' नै हो। तर तीन घन्टा लामो प्रस्तुतिमा निर्देशक सुकुमारले यस्तरी कथा बुनेका छन्, दर्शकलाई कहीँ पनि झिँझो लाग्न पाउँदैन। पुष्पालाई सुपरहिट बनाउने मुख्य पक्ष यही हो।
यसको पटकथा एकदमै कसिलो छ। एकपछि अर्को सनसनीपूर्ण घटनाले दर्शकलाई सिटमा बाँधेर राख्छ। त्यसमाथि अल्लु अर्जुनको प्रभावशाली अभिनयले फिल्ममा ज्यान भरेको छ। यति भन्दाभन्दै पूरै फिल्मको बोझ एक्ला अल्लु अर्जुनमाथि मात्र बोकाउनु पटकथाको एउटा कमजोरी हो।
पटकथाकारले अल्लु अर्जुनको भूमिकालाई वजनदार बनाउनमा जति धेरै काम गरेका छन्, त्यसको दाँजोमा अन्य पात्रहरू गौण बनेका छन्। यसले अन्य पात्रहरूमाथि न्याय गर्न नसकिएको प्रतीत हुन्छ।
कसिलो पटकथालाई सजीव ढंगले छायांकन गरेर पर्दामा उतार्न पनि सुकुमारले कुनै कसर छाडेका छैनन्। उनले ती सबै फर्मुला प्रयोग गरेका छन्, जसले फिल्मलाई भव्य बनाउन एकपछि अर्को इँटा थप्छ। चाहे त्यो नायकको धमाकेदार 'इन्ट्री' होस् या प्रहरी अधिकारीलाई छक्याउनमा उनले खेलेको चाल। जंगलका दृश्य जसरी छायांकन गरिएका छन्, त्यसले पनि दर्शकलाई सनसनी अनुभव गराउँछ।
समग्रमा 'पुष्पा' एउटा सामान्य कथालाई भव्यताका साथ प्रस्तुत गरिएको मसालेदार मनोरञ्जनपूर्ण फिल्म हो। बलिउडमा बढी बिक्ने भनेकै मसला हो।