‘द कश्मिर फाइल्स’ का निर्देशक विवेक अग्निहोत्रीलाई वाई श्रेणीको सुरक्षा दिएको छ।
इन्टेलिजेन्स ब्युरोको थ्रेट परसेप्सन रिपोर्टको आधारमा भारतीय गृह मन्त्रालयले विवेकलाई वाई श्रेणीको सुरक्षा प्रदान गरेको हो।
वाई श्रेणीको सुरक्षामा कुल ८ सुरक्षाकर्मीले व्यक्तिलाई सुरक्षाका लागि तैनाथ गरिन्छ। यसमा जुन भिआईपीलाई सुरक्षा दिइन्छन् त्यसमा पाँच आर्म्ड स्टेटिक गार्ड गार्डलाई उनीहरुको घरमा राखिन्छ । साथै तीन सिफ्टमा तीन पिएसओले सुरक्षा प्रदान गर्छन्।
कश्मिरको घाउ र रक्तरञ्जित कथालाई बलिउडले बिरलै आफ्नो सिनेमाको विषयवस्तु बनाउँछ। विवेक अग्निहोत्री निर्देशित तथा अनुपम खेर अभिनीत ‘द कश्मिर फाइल्स’ ले भने कश्मिरको पुरानो घाउ कोट्टयाउने कोशिस गरेको छ।
सन् नब्बे दशकको सुरूआतमा कश्मिरमा फैलिएको आतंकवादको निशाना बनेर आफ्नै देशभित्र शरणार्थी जीवन बिताउन बाध्य दसौं हजार कश्मिरी पण्डित अर्थात् हिन्दुहरूको कथा यो फिल्मले चित्रण गर्छ।
भारतमा गत साता र आज शुक्रबारबाट काठमाडौंमा रिलिज यो फिल्म दुइटा कारणले चर्चामा छ — पहिलो चर्चा यसको व्यावसायिक सफलतासँग जोडिएको छ भने दोस्रो चर्चा यो फिल्मले भारतमा निम्त्याएको साम्प्रदायिक द्वैषसँग सम्बन्धित छ।
हिन्दु र मुस्लिमबीच विभाजन गहिरो बनाउने 'कश्मिर फाइल्स'
भारतलाई तरंगित बनाइरहेको यो फिल्मले सत्यको नाममा तथ्य लुकाउँछ
भारत–पाकिस्तान विभाजनदेखि नै राजनीतिक रूपले संवेदनशील कश्मिरलाई बलिउडले प्रायः एउटा सुन्दर दृश्यका रूपमा चित्रण गर्दै आएको छ। हनिमुन मनाउन गएका हिरो–हिरोइनले कश्मिरको तालमा डुंगा खियाउँदै जति धेरै युगल गीत गाए, त्यति धेरै गीत सायदै अरू कुनै ठाउँमा गाइयो।
बलिउडले देखाउने सुन्दर दृश्य मात्र कश्मिर होइन। कश्मिरको सुन्दरताका पछाडि साढे सात दशकदेखि कोरिएको घाउ छ।
बलिउडले देखाउने फुसफुसे सेतो हिउँ मात्र कश्मिर होइन। त्यो सेतो हिउँका पछाडि रक्तरञ्जित कथा छ।
कश्मिरको घाउ र रक्तरञ्जित कथालाई बलिउडले बिरलै आफ्नो सिनेमाको विषयवस्तु बनाउँछ। विवेक अग्निहोत्री निर्देशित तथा अनुपम खेर अभिनीत ‘द कश्मिर फाइल्स’ ले भने कश्मिरको पुरानो घाउ कोट्टयाउने कोशिस गरेको छ।
सन् नब्बे दशकको सुरूआतमा कश्मिरमा फैलिएको आतंकवादको निशाना बनेर आफ्नै देशभित्र शरणार्थी जीवन बिताउन बाध्य दसौं हजार कश्मिरी पण्डित अर्थात् हिन्दुहरूको कथा यो फिल्मले चित्रण गर्छ।
भारतमा गत साता र आज शुक्रबारबाट काठमाडौंमा रिलिज यो फिल्म दुइटा कारणले चर्चामा छ — पहिलो चर्चा यसको व्यावसायिक सफलतासँग जोडिएको छ भने दोस्रो चर्चा यो फिल्मले भारतमा निम्त्याएको साम्प्रदायिक द्वैषसँग सम्बन्धित छ।
सुरू गरौं, पहिलो चर्चाबाट।
‘द कश्मिर फाइल्स’ ले रिलिज भएको एक सातामै व्यावसायिक सफलताका नयाँ–नयाँ रेकर्ड राखेको छ। यही फागुन २७ गते रिलिज यो फिल्मको पहिलो दिनको कारोबार जम्मा साढे तीन करोड भारू थियो। बलिउडका लागि यो अत्यन्तै सामान्य सुरूआत हो। तर हेर्दाहेर्दै यति ठूलो छलाङ मार्यो, व्यापार समीक्षकहरू समेत यसको कारोबार आँकडा देखेर चकित छन्।
साढे तीन करोडबाट सुरू कश्मिर फाइल्सले एक सातामै सय करोड कमाएको छ। मध्यम स्तरको हिन्दी फिल्मले यति ठूलो बक्स अफिस सफलता हासिल गर्नु आफैंमा रेकर्ड भएको बलिउड समीक्षक तरण आदर्शले लेखेका छन्। उनी यो फिल्मलाई ‘अलटाइम ब्लकबस्टर’ को श्रेणीमा राख्छन्।
यति मात्र होइन, यो फिल्म सात सयभन्दा कम सिनेमा हलमा रिलिज गरिएको थियो। दोस्रो साता प्रवेश गर्दासम्म चार हजारभन्दा बढी हलमा प्रदर्शन भइरहेका छन् र यो क्रम बढ्दो छ।
जुन अनुपातमा हल संख्या बढेको छ र जुन अनुपातमा फिल्मको प्रचार बढ्दैछ, त्यस आधारमा आगामी दिनमा यसले व्यावसायिक सफलताको उचाइ छुने समीक्षकहरूले आकलन गरेका छन्।
फिल्मको व्यावसायिक सफलताका पछाडि सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) र हिन्दुवादी संगठनहरूको ठूलो हात छ। कश्मिर फाइल्सलाई भाजपाले आफ्नो राष्ट्रवादी राजनीतिक सिद्धान्त र कश्मिरसम्बन्धी आफ्नो एजेन्डा स्थापित गर्ने हतियारका रूपमा प्रयोग गरेको छ। त्यही भएर प्रधानमन्त्री नरेन्द्र मोदीदेखि भाजपाका ठूल्ठूला नेताहरूले समेत यो फिल्म प्रचार गर्न कुनै कसर छाडेका छैनन्।
भाजपा सरकार भएका राज्यहरूले फिल्मलाई कर छुट दिने निर्णय गरेका छन्। कर छुट दिनु ठूलो कुरा होइन। यस्तो सहुलियत विगतमा अन्य फिल्मले पनि पाएका छन्। खासगरी देशभक्तिपूर्ण र सामाजिक विषयवस्तु उठान गरेका सिनेमालाई कर छुट दिने चलन भारतमा छँदैछ। तर त्योभन्दा एक कदम अघि बढेर कश्मिर फाइल्सले संस्थापन पक्षबाट यस्तो सहुलियत पाइरहेको छ, जुन विगतमा कुनै फिल्मले पाएको थिएन। त्यो हो, फिल्म हेर्न आधा दिनको छुट्टी।
भारतका कतिपय राज्यले आफ्ना कर्मचारीलाई यो फिल्म हेर्न आधा दिनको छुट्टी दिने गरेको छ। यसका लागि भोलिपल्ट हलको टिकट भने पेस गर्नुपर्छ।
यसरी भारतीय संस्थापन पक्ष कुनै सिनेमाको पक्षमा खुलेर लाग्नु पनि आफैंमा ठूलो कुरा होइन। यसअघि अक्षय कुमार अभिनीत ‘ट्वाइलेटः एक प्रेमकथा’ र विवेक कौशल अभिनीत ‘उरीः द सर्जिकल स्ट्राइक’ लाई प्रधानमन्त्री मोदी तथा भाजपा नेताहरूले समर्थन गरेकै थिए।
तर विगत र अहिलेको समर्थनमा आधारभूत भिन्नता छ।
‘ट्वाइलेटः एक प्रेमकथा’ ले मोदी सरकारको शौचालय विस्तार अभियानलाई मात्र समर्थन गरेको थियो। ‘उरीः द सर्जिकल स्ट्राइक’ ले पाकिस्तानी भूमिभित्रै घुसेर सैन्य हमला गर्ने राष्ट्रवादी एजेन्डा बोकेको थियो। कश्मिर फाइल्स यी दुवैभन्दा फरक छ।
यसले मोदी सरकारको कुनै कार्यक्रम मात्र होइन, राष्ट्रवादी एजेन्डा मात्र पनि होइन, यसले समग्र भाजपाको कश्मिर र त्यहाँबाट विस्थापित हिन्दुहरूलाई हेर्ने राजनीतिक एजेन्डालाई नै पृष्ठपोषण गर्छ र यसको प्रभाव दुरगामी हुनेछ।
कश्मिर फाइल्सले भारतमा निम्त्याएको साम्प्रदायिक द्वैषको तरंग यहीँनिर आएर जोडिन्छ।
पछिल्लो समय यो फिल्मको शो छुटेपछि केही दर्शकले हलभित्रै नारा लगाउँदै गरेका भिडिओ भाइरल भइरहेका छन्। नियोजित रूपले सार्वजनिक गरिएका ती भिडिओमा केही दर्शक मुस्लिम समुदायविरूद्ध नारा लगाउँदै गरेका सुनिन्छन्।
यस्तो नाराबाजीले तत्कालका लागि फिल्मको व्यावसायिक सफलतामा चार चाँद त लगाउला, तर त्योभन्दा बढ्ता यसले भारतमा साम्प्रदायिक द्वैषको झिल्को फैलाउनेछ। त्यो झिल्कोलाई सामाजिक सद्भावले निभाउन सकिएन भने भविष्यमा लाग्न सक्ने डढेलो निकै भयावह हुनसक्छ।
मोदी सरकारले आफ्नो दोस्रो कार्यकालको सुरूआतमै जम्मू–कश्मिरलाई विशेष राज्यको मान्यता दिने संविधानको धारा ३७० खारेज गरेको थियो। यो निर्णयको उद्गम भारतको हिन्दुवादी संगठन 'आरएसएस' हो जसले जम्मू–कश्मिरलाई विशेष राज्यको मान्यता दिने सम्झौताको सुरूदेखि विरोध गर्दै आएको थियो।
धारा ३७० खारेजीसँगै आरएसएस सफल भएको मानिन्छ। मोदी सरकारको निम्ति आफ्नो राजनीतिक निर्णय सही साबित गर्न एउटा बलियो प्रचार यन्त्रको खाँचो थियो जुन कश्मिर फाइल्सले पूरा गरेको छ।
बलिउडका कतिपय समीक्षकले कश्मिरी पण्डितहरूको घाउलाई सशक्त ढंगमा चित्रण गरेको भन्दै फिल्मको तारिफ गरिरहेका छन्। निश्चय पनि यो फिल्मले कश्मिरी पण्डितहरूको घाउ चित्रण गर्ने बिरल कोशिस गरेकै छ। यसअघि विधु विनोद चोपडाले निर्माण गरेको ‘शिकारा’ कश्मिरी पण्डितहरूको विस्थापनमाथि नै आधारित थियो। तर उक्त फिल्ममा गम्भीर विषयवस्तुलाई व्यावसायिक कलेवरका साथ प्रस्तुत गरिएकाले 'यथार्थभन्दा टाढा' भनी आलोचना गरिएको थियो।
विवेक अग्निहोत्रीको ‘कश्मिर फाइल्स’ लाई भने 'यथार्थपूर्ण गम्भीर सिनेमा' का रूपमा प्रचार गरिएको छ।
के साँच्चै विवेक अग्निहोत्रीले कश्मिरी पण्डितहरूको विस्थापनको कथालाई यथार्थपूर्ण ढंगले चित्रण गरेका छन्?
कश्मिर मुद्दा र खासगरी कश्मिरी पण्डितहरूको विस्थापनको मुद्दा नजिकबाट केलाएका विशेषज्ञहरूका भनाइमा यो फिल्म यथार्थभन्दा त्यति नै पर छ, जति विधु विनोद चोपडाको शिकारा।
उनीहरूका अनुसार यो फिल्मले कश्मिरी पण्डितहरूको घाउ चित्रण गर्दैन, बरू उनीहरूको घाउ कोट्टयाएर त्यसका माध्यमबाट साम्प्रदायिक एजेन्डा फैलाउने काम गर्छ।
कश्मिरी पण्डितहरूका मुद्दामा लामो अनुसन्धान गरेका र थुप्रै किताब लेखेका इतिहासकार अशोककुमार पाण्डेले आफ्नो युट्युब च्यानलमा यो फिल्मको समीक्षा गर्दै भनेका छन्, ‘इतिहासको कसौटीमा हेर्दा कश्मिर फाइल्सले कश्मिरको सत्य ढाकछोप गरेको छ।’
फिल्ममा एउटा संवाद छ जसले भन्छ– झूटो कुरा देखाउनु त्यति ठूलो अपराध होइन, जति ठूलो अपराध सत्य लुकाउनु हो।
यही संवादलाई आधार मान्दै पाण्डे भन्छन्, ‘यो फिल्ममा सत्य खबर देखाउने केही कोशिस त छ तर त्यसको आडमा थुप्रै सत्य घटना लुकाउने कोशिस पनि गरिएको छ।’
सत्य घटना लुकाउने कोशिसका कारण यो फिल्म हेरेर कश्मिरी पण्डितका मुद्दाबारे धारणा बनाउनेहरूले आधा सत्य मात्र बुझ्छन्। उनीहरू ढाकछोप गरेर पेस गरिएको घटनालाई नै पूर्ण सत्य ठान्छन्। यसले समाजमा भ्रमलाई बढावा दिइरहेको छ।
फिल्मको सुरूआत कश्मिरको खराब माहौलबाट हुन्छ। त्यो माहौल किन खराब छ भनेर फिल्ममा देखाइँदैन। माहौल खराब हुनुको राजनीतिक कारणतर्फ फिल्म प्रवेश नै गर्दैन। खराब माहौलका कारण उत्पन्न परिस्थितिमा मात्र केन्द्रित हुन्छ। पृष्ठभूमिबारे मौन रहेर घटना वर्णन गर्ने शैलीले दर्शकलाई अँध्यारोमै हिँड्न बाध्य पार्छ।
यहाँनिर उल्लेखनीय के छ भने, खराब माहौलको पृष्ठभूमिबारे मौन रहने कश्मिर फाइल्सले त्यो माहौल कसका निम्ति खराब छ भनेर चाहिँ प्रस्टै भन्छ। त्यो माहौल हिन्दु पण्डितहरूका निम्ति खराब छ। अर्थात्, कश्मिरमा सदियौंदेखि बसोबास गर्दै आएका अल्पसंख्यक हिन्दुलाई त्यहाँका बहुसंख्यक मुस्लिम समुदायबाट खतरा छ। उनीहरूलाई मुस्लिम समुदायले कश्मिर छाडेर जान बाध्य पारिरहेका छन्। डर देखाइरहेका छन्, धम्क्याइरहेका छन्। फिल्मले यही सन्देश प्रवाह गर्छ।
फिल्मको सुरूआतमा एउटा हत्या देखाइन्छ। आतंकवादीको डरले एक कश्मिरी पण्डित ड्रमभित्र लुक्छन्। उनकै छिमेकीले आतंकवादीलाई उनी लुकेको ठाउँ देखाइदिन्छन्। त्यसपछि पूरै फिल्म हिन्दु भर्सेस मुस्लिमको द्वन्द्वमा केन्द्रित हुन्छ। अर्थात्, कश्मिरका बहुसंख्यक मुसलमानले अल्पसंख्यक हिन्दुलाई कसरी खेदे भनेर फिल्मले वर्णन गरेको छ।
यो वर्णन आफैंमा मार्मिक छ। त्यसैले दर्शकको मनमस्तिष्कमा गहिरो प्रभाव पार्छ। एउटा आधा सत्य जब दर्शकको मनमस्तिष्कमा गहिरो प्रभाव पार्ने गरी पेस गरिन्छ, त्यसले दिने परिणाम भयंकर हुन सक्छ।
कश्मिरीहरूले आफ्नो घरबार छाड्नुपर्ने वास्तविक कारण बुझ्दै नबुझी फिल्म हेरेको भरमा उनीहरूलाई सबै मुस्लिम मिलेर खेदे भन्ने विश्वास गर्न दर्शक बाध्य हुन्छन्। यसले दर्शकमा आक्रोश जन्माउँछ। यो आक्रोश भोलिका लागि साम्प्रदायिक आगो फैलाउने झिल्को हुन सक्छ। यसले भाजपाको राजनीतिक उद्देश्य त पूरा होला, तर समग्र भारतको धार्मिक सद्भावको निम्ति राम्रो घटना होइन।
इतिहासकार पाण्डेका अनुसार यो फिल्ममा एउटा महत्वपूर्ण तथ्य लुकाइएको छ। त्यो समय कश्मिरी पण्डितहरूको मात्र होइन, कश्मिरी मुसलमानहरूको पनि हत्या भएको थियो। पहिलो राजनीतिक हत्या सन् १९८९ अगष्ट ३१ मा भएको थियो। मारिएका व्यक्ति हिन्दु थिएनन्। उनी नेसनल कन्फरेन्सका नेता मोहम्मद युसुफ हलवाई थिए।
त्योभन्दा अगाडि आतंकवादीहरूले गरेको प्रशासनिक हमला पनि हिन्दुमाथि थिएन। त्यो कश्मिरका प्रहरी महानिरीक्षक जिएमए बटालीमाथि भएको थियो। उक्त हमलामा बटाली त बाँचे, तर उनका अंगरक्षकको मृत्यु भयो।
त्यसको केही दिन समयपछि नै जिएमए बटालीका भाइ गुलशन बटालीको आतंकवादीहरूले हत्या गरे।
त्यो समय फर्केर हेर्ने हो भने कश्मिरको माहौल सन् १९८६ को निर्वाचनपछि नै बिग्रिन थालेको थियो। निर्वाचनमा एकातिर नेसनल कन्फरेन्स र कंग्रेसको गठबन्धन थियो भने अर्कातिर मुस्लिम युनाइटेड फ्रन्ट (एमयुएफ) को गठबन्धन थियो।
‘निर्वाचनमा भयानक धाँधली भयो। नतिजा देखेर नेसनल कन्फरेन्सका एक नेताले हार माने र राज्य छाडेर हिँडे। पछि उनलाई डाकेर चुनाव जिताइयो। मुस्लिम युनाइटेड फ्रन्टका एक वरिष्ठ नेताले त्यसको विरोध गरे। उनलाई पक्राउ गरियो र जेल हालियो। उनका एजेन्टलाई पनि जेल हालियो। बीस महिना जेल बसेर रिहा भएपछि उनी पाकिस्तान गए। ती नेतालाई शैयद सराउद्दिनका नामले चिनिन्छ। उनी हिजबुल मुजाहिद्दिनका कमान्डर हुन्। उनका एजेन्ट यासिम मलिकका नामले चिनिन्छन्। उनै यासिम मलिकलाई फिल्ममा पनि देखाइएको छ,’ पाण्डेले भनेका छन्।
भारतमा हिन्दु र मुस्लिम द्वन्द्वको लामो इतिहास छ। सन् १९४७ को विभाजन क्रममा उत्तर भारत क्षेत्रमा बसोबास गर्ने धेरै मुस्लिम पाकिस्तान गए। पाकिस्तानका धेरै हिन्दु भारत आए। दसौं लाख हिन्दु–मुस्लिम आफ्नो थातथलोबाट विस्थापित भए। दुवैतर्फ हजारौंको संख्यामा हत्या गरिए। त्यस्तो द्वन्द्वको घडीमा पनि कश्मिरमा बसोबास गर्ने दुई–तीन प्रतिशत हिन्दुहरूमाथि कुनै हमलाको घटना भएन।
सन् १९४७ देखि १९९० सम्म आइपुग्दा कश्मिरमा हिन्दु र मुसलमानबीच द्वन्द्वका घटना सार्वजनिक भएका छैनन्। त्यसैले, कश्मिरी पण्डितहरूको विस्थापन यो फिल्ममा देखाइएजस्तो हिन्दु–मुस्लिमको द्वन्द्वका कारण होइन, त्यहाँको तत्कालीन राजनीतिक परिस्थितिका कारण भएको पाण्डेको विश्लेषण छ।
‘कश्मिरी पण्डितहरूको मुद्दा बुझ्न हामीले त्यो समय के भएको थियो भनेर अध्ययन गर्नुपर्छ। त्यो बेला पाकिस्तान भारतसँग दुईवटा युद्ध हारिसकेको थियो। युद्ध हारेपछि पाकिस्तानले गुरिल्ला युद्धलाई प्रोत्साहन गर्न थालेको थियो। यही क्रममा उसले कश्मिरमा हुर्किँदै गरेका आतंकवादीहरूलाई समर्थन र सहयोग गर्न थाल्यो,’ पाण्डेले भनेका छन्।
त्यो समय जम्मू–कश्मिर लिबरेसन फ्रन्ट (जेकेएलएफ) भन्ने पार्टीले कश्मिर मुक्तिको नारा घन्काउन थालेको थियो। कश्मिरलाई भारत र पाकिस्तान दुवै देशबाट अलग गराएर स्वतन्त्र राज्यका रूपमा स्थापित गराउने जेकेएलएफको उद्देश्य थियो।
यस क्रममा उसले आफ्नो एजेन्डा स्थापित गर्न भारतीय राज्यको प्रतिनिधित्व गर्ने ती सबैमाथि भौतिक हमला गर्यो र कतिपयको हत्या गर्यो। यसरी हमला र हत्या गर्दा जेकेएलएफले ऊ हिन्दु हो कि मुसलमान हो भन्ने हेरेन। बरू ऊ भारत सरकारको समर्थक हो कि होइन भन्ने मात्र हेर्यो।
‘फिल्ममा एक हिन्दु पूर्वन्यायाधीशको हत्या गरिएको खबर देखाइएको छ। जबकि त्यही समय ८० वर्षका मौलाना मसुदी भन्ने नेताको पनि हत्या गरिएको थियो। यो खबर फिल्मले देखाउँदैन। सत्ताको प्रतीक बनेको नेसनल कन्फरेन्सका कयौं पूर्वमन्त्री तथा विधायकहरू मारिएका थिए। ती सबै मुसलमान थिए। तर ती कसैको नाउँ फिल्ममा उच्चारण गरिँदैन,’ पाण्डे भन्छन्।
‘आतंकवादीहरूले सञ्चार क्षेत्रमा प्रतिबन्ध लगाएका थिए। प्रतिबन्ध उल्लंघन गरेको भन्दै रेडियो कश्मिरमा काम गर्ने सञ्चारकर्मीहरूको हत्या गरिएको थियो। थुप्रै अपहरणमा परेका थिए। उनीहरू प्रायः मुस्लिम नै थिए। ती कसैलाई फिल्मले सम्झनासम्म गरेको छैन।’
पाण्डेका अनुसार जो जो व्यक्ति भारतको पक्षमा उभिएका थिए, उनीहरूको हत्या गरियो। उनीहरूलाई कश्मिर छाड्न बाध्य पारियो। यसरी भारतको पक्षमा उभिनेमा हिन्दु मात्र होइन, मुसलमान पनि ठूलो संख्यामा थिए। त्यसैले मारिने र घरबार छाड्नेमा हिन्दु मात्र होइन, मुसलमान पनि थिए। फिल्मले यो पक्ष बिल्कुलै बेवास्ता गरेको छ।
‘फिल्मको एउटा दृश्यमा मुख्य अभिनेता अनुपम खेरले हामी हिन्दुहरू दुई प्रतिशत मात्र थियौं र बहुसंख्यक मुसलमान मिलेर हामीलाई कश्मिर छाड्न बाध्य पारे भनेका छन्। यो एकदमै गलत वर्णन हो। फिल्मले भनेजस्तो ९८ प्रतिशत मुसलमान दुई प्रतिशत हिन्दुविरूद्ध खनिएका भए के हिन्दुहरूले कश्मिर छाडेर भाग्ने मौका पाउँथे? के उनीहरू सबै त्यहीँ मारिने स्थिति आउने थिएन?’ पाण्डेको प्रश्न छ।
‘त्यो बेला असुरक्षित महसुस गरिरहेका हिन्दुहरूलाई मुसलमान छिमेकीहरूले नै सहयोग गरेका थिए। कतिले त आश्रय पनि दिए। समयक्रममा तत्कालीन सरकारले नै उनीहरूलाई कश्मिर छाडेर हिँड्न प्रोत्साहित गरेको थियो। यो तथ्य पनि फिल्मले बेवास्ता गरेको छ,’ पाण्डे भन्छन्।
फिल्मले कश्मिरी हिन्दुहरूले छाडेर हिँडेका घरमा मुसलमानहरूले कब्जा जमाएको वर्णन गर्छ। जबकि त्यस्ता अधिकांश घर अझै पनि खाली रहेको पाण्डे बताउँछन्।
‘यो फिल्मले इतिहास नकार्छ र सत्यको नाममा तथ्य लुकाउँछ,’ उनी भन्छन्, ‘यसले कश्मिरी मुद्दालाई नै कमजोर बनाउँछ। यसबाट दक्षिणपन्थलाई फाइदा पुगे पनि दीर्घकालमा देशलाई धेरै हानि हुनेवाला छ।’
फिल्म वा साहित्यको एउटा उद्देश्य समाजलाई जोड्नु हो, विभाजनको रेखा कोर्नु होइन। भारतमा थुप्रै साम्प्रदायिक दंगा भएका छन्। सामाजिक सद्भावको मह्लमले त्यो घाउ भर्नु फिल्म वा साहित्यको उद्देश्य हुनुपर्छ। कश्मिर फाइल्सले घाउमा मह्लम लगाउनु त परै जाओस्, घाउ अझै बल्झाउँछ।
सन् नब्बे दशकमा कश्मिरी हिन्दुहरूले भोग्नुपरेको पीडालाई जसरी आधा सत्य ढाकछोप गरेर प्रस्तुत गरिएको छ, त्यसले सामाजिक सद्भाव बढाउने होइन, द्वैष फैलाउन प्रेरित गरेको पाण्डे र उनीजस्ता विश्लेषकहरूको भनाइ छ।