बलिउड अभिनेता रणवीर कपुर र आलिया भट्ट लामो समयदेखि एक अर्काको प्रेम सम्बन्धमा छन्।
उनीहरूले कहिले बिहे गर्छन् भनेर बारम्बार चर्चा चलिरहन्छ। विवाह मितिलाई लिएर बेलाबेलामा हल्ला पनि चल्छ।
अहिले आएर उनीहरूको बिहेले फेरि चर्चा पाएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनीहरूको आउँदो अप्रिलमा बिहे हुन लागेको छ।
आलियाले हालै विशेषगरी महँगा बिहेका लुगा बनाउने डिजाइनर सब्यासाचीसँग भेटेपछि उनीहरूले विवाह गर्न लागेको चर्चा चलेको हो।
यसबारे रणवीर र आलियाले कुनै प्रतिक्रिया दिएका छैनन्।
तर बलिउड सञ्चारमाध्यम पिंकभिलासँग कुरा गर्दै रणवीरकी काकी रिमा जैनले हाल विवाहको तयारी नभएको बताएकी छन्।
‘रणबीर र आलियाले पक्कै पनि विवाह गर्नेछन्। तर अप्रिलमा होइन। अहिलेसम्म विवाहको केही तयारी भएको छैन,’ रिमाका भनाइ उद्धृत तर्दै पिंकभिलाले लेखेको छ।
त्यस्तै आलियाका बुबा महेश भट्टले पनि यो हल्ला मात्र रहेको बताउँदै भने, ‘यो सबै हल्ला मात्र हो। जुन कति समय या कति वर्षसम्म चल्छ भन्ने थाहा छैन।’
हालै रणवीर र आलियाले आयान मुखर्जी निर्देशित फिल्म ‘ब्रह्माश्त्र’ को छायांकन सकेका छन्।
आलिया अभिनित फिल्म ‘आरआरआर’ प्रदर्शनरत छ। रणवीर पनि नयाँ फिल्म 'शमशेरा' मा देखिँदैछन्।