बलिउड कलाकारले कति पारिश्रमिक लिन्छ भन्ने बारेमा दर्शकलाई चासो हुन सक्छ। कतिपय कलाकारहरू महँगो पारिश्रमिककै कारण पनि चर्चामा आइरहन्छन्।
अहिले महंगो पारिश्रमिक लिने अभिनेताको अग्रस्थानमा आउँछन् अभिनेता अक्षय कुमार।
उनी पछिल्लो समयको व्यस्त अभिनेता पनि हुन्। उनी एक वर्षमै ४-५ वटा फिल्मको छायांकन सक्छन्। उनै अभिनेता अक्षयले एक फिल्मबाट भारतीय एक सय ३५ करोड रुपैयाँ लिन्छन्।
अभिनेता सलमान खान पनि एक फिल्मको भारतीय एक सय ३० करोड रुपैयाँ पारिश्रमिक लिन्छन्। उनी हाल ‘टाइगर ३’को तयारीमा छन्।
शाहरुख खानले आगामी फिल्म ‘पठान’को लागि भारतीय एक सय करोड लिएका छन्। उनको पछिल्लो समय प्रदर्शन भएको फिल्म ‘जिरो’ बक्स अफिसमा फ्लप साबित भएको थियो। जिरोमा शाहरुखको साथमा अनुष्का शर्मा र कट्रिना कैफको अभिनय छ।
अभिनेता रणवीर कपूरले आगामी फिल्म ‘ब्रह्मास्त्र’को लागि भारतीय ६५ करोडदेखि ७० करोड रुपैयाँ लिएको बलिउड लाइफले जनाएको छ। यस फिल्ममा उनीसँगै आलिया भट्टको पनि अभिनय छ। लामो समयदेखि प्रेम सम्बन्धमा रहेका रणवीर र आलिया ब्रह्मास्त्रमा पहिलो पटक एक साथ देखिँदैछन्।
पिंकभिलाका अनुसार अभिनेता रणवीर सिंह एक फिल्मबाट ५० करोड भारु लिन्छन्। उनले रामलीला, पद्मावत, गल्ली व्वाई, सिम्बा, बाजिराव मस्तानी, दिल धड्कने दो, लुटेरा, गुन्डे जस्ता फिल्ममा अभिनय गरिसकेका छन्। उनको पछिल्लो समय फिल्म ‘८३’ प्रदर्शन भएको थियो।
महंगो पारिश्रमिकको कारण चर्चामा रहने कलाकारमध्ये एक हुन्, दीपिका पादुकोण। कुनै समय दीपिका अभिनेताको भन्दा बढी पारिश्रमिक लिएको कारण चर्चामा थिइन्। उनले ‘पद्मावती’मा अभिनेताको भन्दा बढि पारिश्रमिक लिएकी हुन्। उक्त फिल्ममा उनीसँगै शाहिद कपूर र रणवीर सिंहको अभिनय छ। पिंकभिलाका अनुसार दीपिका हाल एक फिल्मको लागि १५ करोड भारू पारिश्रमिक लिन्छन्।
महंगो पारिश्रमिकको कारण चर्चामा रहने अर्की अभिनेत्री हुन् आलिया भट्ट। उनले सञ्जय लिला भन्साली निर्देशित फिल्म ‘गंगुबाई’मा २० करोड भारू लिएकी छन्।
बलिउड हंगामाका अनुसार प्रदर्शनरत फिल्म आरआरआरमा छोटो भूमिका भएपनि आलियाले पुरै फिल्म बराबरको पारिश्रमिक पाएकी छन्। उनले यो फिल्मबाट ९ करोड भारू लिएकी बताइएको छ ।
हालै विवाह गरेकी अभिनेत्री कट्रिना कैफले आगामी फिल्म 'टाइगर ३' बाट भारतीय १५ देखि २१ करोड रुपैयाँ लिएकी छन्। फिल्ममा उनीसँगै सलमान खानको अभिनय रहनेछ।
त्यस्तै, महंगो पारिश्रमिक लिने सूचीमा आउँछिन् करिना कपूर खान। उनले फिल्म 'रामायण' मा सीताको भूमिका निर्वाह गर्नका लागि १२ करोड भारू लिएकी छन्।