‘बाहुबली’ निर्देशक एसएस राजामौलीको फिल्मले विश्वभर राम्रो व्यापार गरिरहेको छ। फिल्मले विश्वभरबाट १० अर्ब भारू (१६ अर्ब नेपाली रूपैयाँ) कमाएको छ।
निर्देशक राजामौलीले फिल्ममा स्वतन्त्रता सेनानी अल्लुरी सीताराम राजु र कोमाराम भीमको जीवनबाट प्रभावित भएर दुई पात्र बनाएका छन्। फिल्ममा उनीहरूको मित्रतालाई निकै रुचाइएको छ।
निर्देशक राजामौलीले विभिन्न अन्तर्वार्तामा यी क्रान्तिकारीहरूका बारेमा धेरै जानकारी उपलब्ध नभएको र स्वतन्त्रता सेनानीहरूको भावनालाई सम्मान गर्दै फिल्ममा प्रस्तुत गरेको बताउँदै आएका छन्।
को हुन् रामचरणले निर्वाह गरेका अल्लुरी सीताराम राजु र एनटिआरले निर्वाह गरेका कोमाराम भीम?
अल्लुरी सीताराम राजु १८८२ मा मद्रास वन ऐन लागू गर्नका लागि ब्रिटिस सरकारविरुद्ध विद्रोहको नेतृत्व गर्ने भारतीय क्रान्तिकारी हुन्। त्यो बेला ब्रिटिसहरूले जनजातिहरूलाई आफ्नो घर र वनहरूमा स्वतन्त्र आवतजावतका लागि रोक लगाएको थियो। यसबारे निकै विवाद भएको थियो।
उनीहरूलाई खेतीपाती गर्न वनमा स्वतन्त्र रूपमा आवतजावत गर्न पर्ने थियो। सन् १९२४ मा राजुलाई अंग्रेजहरूले रूखमा बाँधेर गोली हानेर मारेपछि हिंसाको अन्त्य भएको थियो। उनको वीरताले गर्दा उनलाई ‘मन्यम विरुडु’ र द ‘हिरो अफ द जंगल’ को उपाधि दिइयो। फिल्ममा रामचरणले उनको भूमिका निर्वाह गरेका छन्।
उता कोमाराम भीमको जन्म सन् १९०१ मा तेलङ्गानाको आदिलावाद जिल्लामा भएको थियो। गोन्ड जनजातिबाट उनी चन्द र बल्लालपुरको घना जंगलमा हुर्किएका थिए। जेलबाट भागेर चिया बगानमा पुग्दा उनलाई राम्पा विद्रोहको बारेमा थाहा भयो।
विद्रोहको बारेमा थाहा पाएपछि विद्रोही सेना अल्लुरीमा भर्ती हुने सोच बनाए। आफ्नो गोन्ड समुदायलाई बचाउन उनी यसमा भर्ती भएका थिए। फिल्ममा एनटिआरले उनको भूमिका निर्वाह गरेका छन्।
आफ्नो समुदायको हित र वनको संरक्षण गर्ने यी दुई क्रान्तिकारीहरूको सम्झनामा आन्ध्र प्रदेश, तेलङ्गाना र आदिवासी क्षेत्रहरूमा आज पनि सम्मान गीत गाइन्छ।
तर ‘आरआरआर’मा यी दुई क्रान्तिकारीहरूको वास्तविक कहानी छैन। फिल्म उनीहरूबाट प्रभावित भएर तयार पारिएको निर्देशकले बताएका छन्।