‘बहुबली’ निर्देशक एसएस राजामौलीको फिल्म ‘आरआरआर’ले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ। प्रदर्शन भएको १६ औं दिनमा फिल्मले विश्वभरबाट १० अर्ब भारु (१६ अर्ब नेपाली रुपैयाँ) कमाएको छ।
यो फिल्मको सफलतापछि निर्देशक राजामौलीको आगामी फिल्म कुन भन्ने दर्शकलाई चासो छ। आरआरआरको सफलताको पार्टीमा उनले ‘आरआरआर २’ बनाउने संकेत समेत दिएका छन्। तर हाल उनी महेश बाबुलाई लिएर फिल्म बनाउने योजनामा छन्।
महेशको लागि उनीसँग दुईटा फिल्मको स्क्रिप्ट भएको इन्डिया डटकमले जनाएको छ। निर्देशक राजामौलीका अनुसार उनका बुबा लेखक केवी विजयेन्द्र प्रसादले उनलाई नयाँ फिल्ममा काम गर्न सल्लाह दिएका छन्।
‘हामीसँग महेश बाबुका लागि दुइटा फिल्मको स्क्रिप्ट छ। दुवै भव्य फिल्म हो,’ उनले भने। उक्त फिल्मको बजेट ५ सय करोड रहेको भारतीय मिडियामा उल्लेख छ। यो फिल्म सन् २०२२ अन्तिमबाट छायांकनमा जानेछ।
निर्देशक राजामौलीले महेशसँग पहिलो पटक काम गर्देछन्।
महेश बाबुले पनि हालै आफू बलिउड फिल्महरूमा काम नगर्ने बताएका छन्। उनले भनेका छन्, ‘जब तेलुगु फिल्म नै हिन्दी भाषामा विश्वभर चल्न थालिसकेको छ भने मैले हिन्दी फिल्ममा काम गर्न जरुरी छैन।’