दक्षिण भारतीय अभिनेता राम चरण यतिबेला कालो पहिरन र खाली खुट्टामा देखिन्छन्।
केहि दिन अघि राम चरण अभिनित फिल्म ‘आरआरआर’को सफलताको खुसीयालीमा मुम्बईंमा भव्य पार्टी आयोजना गरिएको थियो। भारतीय अखबार हिन्दुस्तान टाइम्सका अनुसार उक्त पार्टीमा उनी कालो लुगा लगाएर खाली खुट्टा गएका थिए। उनको हातमा एक गम्छा पनि थियो। उनको यो पहिरनले धेरैको ध्यान खिच्यो।
राम चरण हरेक वर्ष केरलाको सबरीमाला मन्दिरको भ्रमण गर्नुभन्दा अघि ४१ दिनसम्म यस्तै पहिरनमा देखिन्छन्। उनी स्वामी अयप्पाका भक्त हुन्। अयप्पाकै मार्गदिशालाई पालना गर्दै उनले व्रत समेत राखेका छन्। यो व्रत लिनेहरूले ४१ दिनसम्म कालो लुगा लगाउने, खाली खुट्टा हिँड्ने, शाकाहारी भोजन गर्ने र ब्रह्मचर्य पालना गर्छन्।
यतिबेला दक्षिण भारतीय फिल्म ‘आरआरआर’ले बक्स अफिसमा एक पछि अर्काे किर्तिमान राख्दैछ। फिल्मले विश्वभरबाट एक हजार करोड भारतीय रुपैयाँ कमाइ गरेको छ।
एसएस राजामौलीको निर्देशनमा बनेको फिल्म बक्स अफिसमा वर्ल्ड वाइड एक हजार करोड भारतीय रुपैयाँको आँकडा पार गर्ने तेस्रो फिल्म बनेको छ। यो फिल्मभन्दा अगाडी एसएस राजामौलीकै निर्देशनमा बनेको फिल्म ‘बाहुबली २’ र आमिर खानको ‘दंगल’ले एक हजार करोड कमाएको थिए।
चर्चित दक्षिण भारतीय अभिनेताद्वय रामचरण र एनटिआरको मुख्य भूमिका रहेको फिल्ममा आलिया भट्टको पनि छोटो तर प्रमुख भूमिका छ। यसबाहेक अजय देवगनलाई पनि फिल्ममा देख्न सकिन्छ।
फिल्मले भारतको सन् १९२० को पृष्ठभूमिमा ब्रिटिस शासनविरूद्ध लड्ने क्रान्तिकारीको काल्पनिक कथा प्रस्तुत गर्छ। यो फिल्म दुई वास्तविक क्रान्तिकारीहरु अल्लुरी सीताराम राज (राम चरण) र कोमराम भीम (जुनियर एनटीआर)को जीवनीबाट प्रभावित छ।