यश अभिनित दक्षिण भारतीय फिल्म ‘केजीएफ-च्याप्टर २’ आजदेखि विश्वभरका १० हजारभन्दा बढी सिनेमा घरमा एकसाथ प्रदर्शनमा आएको छ।
नेपाली नयाँ वर्ष २०७९ वैशाख १ गतेको अवसर पारेर रिलिज भएको फिल्मको क्रेज नेपालको बक्स अफिसमासमेत देख्न सकिन्छ। नेपालका सबै मल्टिप्लेक्सल हलहरूमा आइतवारसम्मका टिकटहरू 'सोल्डआउट' भइसकेका छन्।
दर्शकहरूको मागलाई हेरेर हल सञ्चालकहरूले बिहान ६ बजेदेखि राति १०: ४५ सम्मका शोहरू राखेका थिए। तर ती सबै शोहरू पनि हाउसफुल भएपछि केही सिनेमा हलले बिहान १ बजेदेखिनै शोहरू राखेका छन्।
तेलुगु फिल्म आरआरआर पछि दर्शकहरूले अत्यधिक रूचाएको फिल्मले सानदार र कीर्तिमानी ओपनिङ गर्ने निर्माण पक्षले अपेक्षा गरेको छ।
‘केजीएफः च्याप्टर २’ पिरियड ड्रामा सन् २०१८ मा रिलिज भएको ‘केजीएफः च्याप्टर १’ को दोस्रो भाग हो। फिल्ममा यश, सञ्जय दत्त, रविना टण्डन र श्रीनिधि शेट्टी मुख्य भूमिकामा छन्।
‘केजीएफ २’ कन्नड, तमिल, तेलुगु, हिन्दी र मलयालम गरी ४ भाषामा विश्वव्यापी रूपमा रिलिज हुँदैछ। यो फिल्म सय करोडको बजेटमा बनेको बताइएको छ।
प्रशान्त नीलले निर्देशन गरेको फिल्मलाई हम्बल फिल्म्सले निर्माण गरेका हुन्।
‘केजीएफ २ ले बिहान १ बजेदेखि नै शो पाउँदा अनमोल केसी र सुहाना केसी अभिनित फिल्म ‘ए मेरो हजुर ४’ भने मर्कामा पर्ने देखिएको छ।
फिल्म ‘ए मेरो हजुर ४’ पनि आजबाटै देशभर रिलिज हुँदैछ।