बलिउड अभिनेता शाहरुख खान र निर्देशक राजकुमार हिरानी पहिलो पटक एकसाथ काम गर्दैछन्। मंगलबार एक भिडिओ सार्वजनिक गर्दै फिल्म ‘डंकी’ को औपचारिक निर्माण घोषणा गरिएको हो।
निर्देशक राजकुमार हिरानीले ट्विट गर्दै लेखेका छन्, ‘हामीले एकसाथ फिल्म बनाउने निर्णय लियौं। डंकीको घोषणा गर्न पाउँदा एकदमै खुशी छौं। यो फिल्म क्रिमसममा आउँदैछ,’ निर्देशक हिरानी र गौरी खानले निर्माण गर्न लागेको फिल्ममा शाहरुख खान र तापसी पन्नूको मुख्य भूमिका रहनेछ।
इमिग्रेसनको विषय वस्तुमा केन्द्रित फिल्मको पहिलो सेड्युल ४० दिनको राखिएको छ। शाहरुखले हालै ‘पठान’ को छायांकन सकाएका छन्। अब उनले हिरानीको फिल्म सुरू गर्दैछन्। पन्जाबको सेटअपमा छायांकन हुने फिल्मका लागि मुम्बईस्थित फिल्म सिटीमा भव्य सेट तयार गरिएको छ।
सोसल कमेडी फिल्मका लागि शाहरुख तयार भएका छन्। यो फिल्म सन् २०२३ डिसेम्बर ११ बाट प्रदर्शन हुनेछ।
शाहरुखको पहिल्लो समय ‘जिरो’ प्रदर्शन भएको थियो। यो फिल्म बक्स अफिसमा असफल भएपछि उनले केही समय फिल्मबाट ब्रेक लिएका थिए।
राजकुमार हिरानीले ‘३ इडियट्स, मुन्नभाइ, पीके र सञ्जू’ जस्ता हिट फिल्म निर्देशन गरिसकेका छन्।