दक्षिण भारतीय फिल्म ‘केजिएफः च्याप्टर २’ का अभिनेता यशले बलिउड अभिनेत्री दीपिका पादुकोणसँग बलिउडमा डेब्यू गर्ने इच्छा व्यक्त गरेका छन्।
भारतीय मनोरञ्जन अखबार बलिउड लाइफका अनुसार यशलाई बलिउडमा कुन अभिनेत्रीसँग डेब्यू गर्न चाहनुहुन्छ भनेर भारतीय सञ्चार माध्यमले प्रश्न गरेका थिए। उक्त प्रश्नको जवाफमा यशले दीपिका पादुकोणको नाम लिएका हुन्।
यश जस्तै दीपिका पनि कन्नडिगा हुन्। त्यसैले उनले दीपिकासँग काम गर्ने सजिलो हुने समेत बताएका छन्।
यतिबेला ‘केजिएफः च्याप्टर २’ ले बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको छ। तमिल, मलयालम, तेलगु, हिन्दी र कन्नड गरी पाँच भाषामा प्रदर्शन भएको फिल्मले भारतमा सबै भाषामा ५१९ करोड भारतीय रुपैयाँ ग्रस कमाएको छ भने विश्वभरबाट ६२४ करोड भारतीय रुपैयाँ ग्रस कमाएको छ।
दीपिकाको भने पछिल्लो समय फिल्म ‘गहिराइयाँ’ अमेजन प्राइममा प्रदर्शन भएको थियो। उनी अमिताभ बच्चनसँग ‘द इन्टर्न’को रिमेकमा देखिदैछिन्। साथै, दीपिका ऋतिक रोशनसँग पहिलो पटक ‘फाइटर’मा काम गर्दैछिन्।