दक्षिण भारतीय फिल्म 'अर्जुन रेड्डी' को रिमेक 'कबिर सिंह' हिट भयो। यसपछि बलिउडमा रिमेक फिल्म बनाउने लहरै चलेको छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार ६० करोड भारू लागतमा बनेको कबिर सिंहले ३७९ करोड कमाएको थियो। कबिर सिंहले नै रिमेक फिल्महरू बन्ने र प्रदर्शन हुने क्रम बढाउन सहायता मिलेको भारतीय फिल्म विश्लेषकहरू बताउँछन्।
उक्त फिल्मका कारण बलिउडमा दक्षिण भारतीय फिल्मका रिमेक बढी बन्न थालेका छन्। रिमेक भनेको बनिसकेको फिल्मको प्रतिलिपि अधिकार किनेर पुनः त्यही कथामा फरक पात्र राखेर बनाइने फिल्म भन्ने बुझिन्छ।
गत शुक्रबारबाट प्रदर्शनमा आएको शाहिद कपुरको नयाँ फिल्म 'जर्सी' पनि रिमेक हो। अर्जुन रेड्डीको रिमेक कबिर सिंहमा पनि उनैको भूमिका थियो। दक्षिण भारतीय फिल्म जर्सीकै रिमेक हो बलिउड फिल्म जर्सी।
फिल्ममा शाहिदसँगै अभिनेत्री मृणाल ठाकुरको पनि अभिनय छ। यो फिल्मले तीन दिनमा ९ करोड ५० लाख भारू कमाइ गरेको सञ्चारमाध्यमहरूले जनाएका छन्।
जर्सीपछि पनि बलिउडमा दक्षिण भारतीय फिल्मका रिमेक बन्ने र प्रदर्शन हुने लर्को नै छ। यहाँ त्यस्तै केही फिल्मको सूची उल्लेख गरेका छौं।
अला बैकुण्डठपुरमलो– शहजादा
सन् २००० मा प्रदर्शन भएको अल्लू अर्जुन र पूजा हेगडे अभिनित एक्सन फिल्म 'अला बैकुण्ठपुरमलो' तेलुगूमा सबभन्दा बढी कमाइ गर्ने फिल्म बनेको थियो। त्यति मात्र नभई उक्त वर्ष सबभन्दा धेरै कमाउने भारतीय फिल्म पनि सावित भएको थियो।
यस फिल्मको हिन्दी रिमेक 'शहजादा' आउँदैछ। यसमा कार्तिक आर्यन र कृति सेनन देखिँदै छन्। रोहित धवनले निर्देशन गर्ने फिल्म यही वर्ष नोभेम्बरमा प्रदर्शन हुँदैछ।
ड्राइभिङ लाइसन्स– सेल्फी
दक्षिण भारतीय कमेडी फिल्म 'ड्राइभिङ लाइसन्स' मा पृथ्वीराज सुकुमारन र सूरज वेन्जरामूदको मुख्य भूमिका थियो। यो फिल्मको हिन्दी रिमेक 'सेल्फी' बन्दैछ। यसको निर्देशन राज मेहताले गर्ने छन्। फिल्ममा अक्षय कुमार र इमरान हाश्मीको मुख्य भूमिका रहनेछ।
यही वर्षको अन्तिमबाट छायांकनमा जाने फिल्म अर्को वर्ष प्रदर्शन हुनेछ।
कैथी–भोला
तमिल फिल्म 'कैथी' एक्सन थ्रिलर विधाको हो। यसको हिन्दी रिमेक 'भोला' मा अजय देवगन र तब्बू देखिँदै छन्। अभिनेता अजय देवगनले सामाजिक सञ्जालमार्फत फिल्मको घोषणा गरेका हुन्। यो फिल्म २०२३ मार्च ३० मा प्रदर्शन हुनेछ।
अन्नियां
निर्देशक शंकरको सन् २००५ को सुपरहिट फिल्म हो 'अन्नियां'। साइकोलोजिकल थ्रिलर फिल्मको बलिउड रिमेकमा तमिलकै अन्नियांका अभिनेता विक्रमको मुख्य भूमिका रहने बताइएको छ। सुरूमा यो फिल्ममा रणवीर सिंह देखिने चर्चा थियो। फिल्मको हालसम्म नाम राखिएको छैन।
मास्टर
लोकेश कनगराजले निर्देशन गरेको फिल्म 'मास्टर' २०२१ मा प्रदर्शन भएको थियो। एक्सन फिल्ममा विजय चन्द्रशेखर र विजय सेतुपतिको मुख्य भूमिका थियो। मद्यपान गर्ने प्राध्यापक र ग्याङस्टारको कथालाई फिल्ममा देखाइएको छ जसलाई दर्शकले निकै रूचाएका थिए।
भारतीय सञ्चारमाध्यमका अनुसार यसको बलिउड रिमेकमा सलमान खान या शाहिद कपूर देखिन सक्ने सम्भावना छ। फिल्मको मुख्य कलाकार निधो नभए पनि यही वर्ष छायांकनमा जाने बताइएको छ।
(भारतीय सञ्चारमाध्यम अमर उजालाको सहयोगमा तयार पारिएको)