प्रवर्तन निर्देशनालय (इडी) ले ठग सुकेश चन्द्रशेखरको जबरजस्ती फिरौती मुद्दामा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजको ७ करोड २७ लाख भारतीय रुपैयाँको सम्पत्ति जफत गरेको छ।
भारतीय सञ्चार माध्यम इन्डिया टु डेका अनुसार उक्त सम्पत्तिमा ज्याकलिनको नाममा ७ करोड १२ लाख भारतीय रुपैयाँ ‘फिक्स्ड डिपोजिट’ समावेश छ। हालै इडीले चन्द्रशेखरलाई पाँच वर्ष पुरानो ठगी मुद्दामा पक्राउ गरेको थियो।
इडीका अनुसार ठग सुकेश चन्द्रशेखरले ठगी रकमबाट अभिनेत्रीलाई करिब ५ करोड ७१ लाखको उपहार दिइएको प्रमाण फेला परेको छ। उपहार बाहेक उनले ज्याकलिनका परिवारलाई करिब १ लाख ७३ हजार अमेरिकी डलर र करिब २७ हजार अस्ट्रेलियन डलर पनि दिएका थिए।
यसअघि पनि इडीले अभिनेत्रीसँग तीनपटक सोधपुछ गरिसकेको छ। सन् २०२१ डिसेम्बर ५ तारिखमा पनि देशबाहिर जान खोजेको भन्दै अभिनेत्रीलाई मुम्बई एयरपोर्टमा रोकिएको थियो। इडीले अभिनेत्रीलाई भारतभित्रै बस्नका लागि सूचना पनि जारी गरेको छ।
इडीले ठग सुकेशसँग सम्बन्धित दुई सय १५ करोडको मनी लान्ड्रिङ प्रकरणमा ज्याकलिनसँग उनको र ठगको सम्बन्धको दयगतमा धेरैपटक सोधपुछ गरेको छ। इडीसँग पनि अभिनेत्रीविरुद्ध धेरै प्रमाणहरू छन्।
तिहाड जेलमा ठग सुकेशसँग अभिनेत्रीका धेरै तस्बिर पनि सार्वजनिक भएका छन्। योसँगै सुकेशले पनि आफू र ज्याकलिन एक वर्षदेखि सम्बन्धमा रहेको दाबी गरेका छन्। यद्यपि, अभिनेत्रीले सोधपुछको क्रममा सम्बन्धलाई स्पष्ट रूपमा अस्वीकार गरेकी थिइन्।
सुकेश चन्द्रशेखरमाथि दिल्लीका एक व्यापारीकी श्रीमतीबाट बल्फ कलमार्फत दुई सय १५ करोड रुपैयाँ भारु ठगी गरेको आरोप छ। सुकेश दिल्लीको जेलमा रहेका बेला उनले प्रधानमन्त्रीको कार्यालय, कानुन मन्त्रालय र गृह मन्त्रालयका अधिकारी भएको नाटक गरेर पीडितसँग पैसा असुल्ने गरेका थिए। सुकेशले फोनमा पीडित महिलाका श्रीमानलाई जमानत दिने र औषधि व्यवसाय सञ्चालन गराउने दाबी गरेका थिए।