गत शुक्रबारबाट अजय देवगनको फिल्म ‘रनवे ३४’ र टाइगर श्राफको फिल्म ‘हिरोपन्ती २’ प्रदर्शन भइरहेको छ। तर यी दुवै फिल्मले बक्स अफिसमा खासै कमाल देखाउन सकेका छैनन्। दर्शकलाई हलसम्म तान्न यी दुवै फिल्म चुकेका छन्।
हलमा न त अजय देवगनको जादू चल्यो, न टाइगरको एक्सन। दुई फिल्म प्रदर्शनको बाबजुद पनि तीन हप्ता अगाडि प्रदर्शन भएको दक्षिण भारतीय फिल्म ‘केजिएफः च्याप्टर २’ कै दबदबा कायम छ। ‘केजिएफ २’ ले विश्वव्यापी रुपमा एक हजार करोड भारतीय रुपैयाँ कमाएको छ।
हिन्दी संस्करणमा पनि ‘केजिएफ २’ ले राम्रो प्रदर्शन गरिरहेको छ। तरण आदर्शका अनुसार फिल्मले हिन्दी संस्करणमा मात्रै तीन सय ६९ करोड ५८ लाख कमाएको छ।
विश्वव्यापी संकलनमा यो फिल्मले एस एस राजामौलीको ‘आरआरआर’ लाई उछिन्ने हिन्दुस्तान टाइम्समा उल्लेख छ।
अजय देवगनको ‘रनवे ३४’ ले तेस्रो दिनसम्म सात करोड ५० लाख भारु कमाएको छ। यो फिल्मले तीन करोड ५० लाख भारुको ओपनिङ गरेको थियो। समीक्षकको सकारात्मक प्रतिक्रिया पाउँदा पनि दर्शकले हलसम्म गएर फिल्म हेर्ने कष्ट गरेका छैनन्।
टाइगर श्राफको ‘हिरोपन्ती २’ ले पहिलो दिनमा राम्रो प्रदर्शन गरेको थियो। तर, दोस्रो र तेस्रो दिनमा बक्स अफिसमा फिक्का परेको छ। फिल्मले बक्स अफिसमा सात करोड भारुको ओपनिङ गरेको थियो भने दोस्रो दिनमा पाँच करोड भारु कमाएको थियो।
अहमद खानले निर्देशन गरेको ‘हिरोपन्ती २’ मा टाइगरसँगै नवाजुद्दीन सिद्दीकी र तारा सुतारियाको मुख्य भूमिका छ।
अजय देवगनको निर्माण, निर्देशन तथा अभिनय रहेको फिल्म रनवे ३४ मा अमिताभ बच्चन, बोमन इरानी र रकुलप्रीत सिंहको पनि मुख्य भूमिका छ।