दक्षिण भारतीय अभिनेता रामचरण र चिरञ्जिवीको नयाँ फिल्म यही मे २७ मा रिलिज हुने भएको छ। बाबुछोरा चिरञ्जिवी र रामचरणको फिल्म 'आचार्य' अमेजन प्राइम भिडिओमा मे २७ मा रिलिज हुने बलिउड लाइफले लेखेको छ।
चार सातापछि ओटिटीमार्फत् रिलिज हुन लागेको यो फिल्म सिनेमा हलमा भने यही अप्रिल २९ देखि लागिसकेको छ। दक्षिण भारतका चर्चित मानिने यी बाबुछोराको फिल्मले एकदमै राम्रो व्यापार गर्ने अपेक्षा गरिएको थियो।
'आचार्य' ले पहिलो दिन ३७ करोड भारूको व्यापार गरेको थियो। दोस्रो दिन यसले ४० करोड कटाउने अनुमान गरिए पनि नतिजा उल्टो भयो। दोस्रो दिन यसको व्यापार हवात्तै खस्केर जम्मा साढे ८ करोडको व्यापार गर्यो। तेस्रो दिन त जम्मा साढे पाँच करोड भारू हाराहारी मात्र कमायो।
अहिलेसम्म फिल्मले जम्मा ५१ करोड भारू मात्र कमाएको छ।
फिल्मको समीक्षा पनि नकारात्मक धेरै आएको छ। त्यसैले यो फिल्मलाई फ्लप भन्न थालिसकिएको छ। प्रशंसकहरूले निर्देशक कोराटाला शिवालाई यस्तो झूर फिल्म बनाएको भन्दै ट्रोल पनि गरिसकेका छन्।
यसका बाबजुद अमेजन प्राइममा यो फिल्म राम्रो मूल्यमा बिक्री भएको बताइएको छ।
लामो समयदेखि रिलिजको तयारीमा रहेको 'आचार्य' को कोरोनाका कारण रिलिज मिति सरेको सर्यै थियो। यसबीच रामचरणको फिल्म 'आरआरआर' रिलिज भयो। 'आरआरआर' ले बक्स अफिसमा राम्रो कमाइ गरे पनि आचार्यमा उनको जादूले काम गरेन।
चिरञ्जिवी र रामचरणका अन्य केही फिल्म पनि आउने तयारीमा छन्। रामचरणको नयाँ फिल्म 'आरसी १५' को बारेमा चर्चा सुरू भइसकेको छ।
'आचार्य' मा रामचरण र चिरञ्जिवीका साथै पूजा हेग्डेको पनि मुख्य भूमिका छ। पूजाको यसअघि 'राधेश्याम' र 'बिस्ट' फिल्म रिलिज भएका थिए। 'आचार्य' सँगै उनका तीन फिल्म लगातार फ्लप भएका हुन्।