बलिउड अभिनेता अजय देवगनका फिल्म ‘रनवे ३४’ मा पाइलटहरूलाई गलत तरिकाले प्रस्तुत गरेको भन्दै भारतीय पाइलट महासंघले आपत्ति जनाएको छ।
भारतीय सञ्चार माध्यम इन्डिया टाइम्सका अनुसार फिल्मलाई सत्य घटनामा आधारित भनिए पनि काल्पनिक तरिकाले प्रस्तुत गरिएको भन्दै आलोचना भएको हो।
फिल्मको निर्माण पक्षले भने सन् २०१५ मा दोहाबाट कोचिसम्म उडान भरेकोे विमानलाई क्र्यास ल्यान्डिङ घटनाको सत्य कहानी बताउँदै आएको छ। मौसम खराब र कम भिजिबिलिटी कारण आकस्मिक अवतरण गर्दा विमान दुर्घटना भएको थियो। दुर्घटनामा केही यात्रुको मृत्यु भएको थियो।
महासंघले एक विज्ञप्ति जारी गर्दै फिल्ममा देखाइएको घटना सत्यबाट धेरै टाढा रहेको बताएको छ।
‘रनवे ३४ को निन्दा गर्दछौं। फिल्ममा पाइलट पेशालाई जुन तरिकाले देखाइएको छ यो सत्यबाट कोशौं टाढा छ। जुन ढंगले फिल्ममा देखाइएको छ त्यसले विमानमा यात्रा गर्ने यात्रुको मनमा भ्रामक सन्देश पैदा गर्न सक्छ,’ महासंघका सचिव क्याप्टेन सिएस रान्धावाले भनेका छन्।
यो फिल्मलाई अजय देवगनले निर्देशन गरेका हुन्। जसमा उनले पाइलटको भूमिका पनि निर्वाह गरेका छन्। फिल्ममा अजयसँगै अमिताभ बच्चन, रकुल पीत सिंह, बोमन इरानी, अंगिरा धर, आकांक्षा सिंहको पनि अभिनय छ।
गत शुक्रबारदेखि प्रदर्शन भइरहेको फिल्मलाई समीक्षकले सकारात्मक प्रतिक्रिया दिएका छन्। तर, फिल्मले बक्स अफिसमा भने खासै राम्रो व्यापार गरेको छैन। भारतीय बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले पाँच दिनमा १९ करोड भारु कमाएको छ।