दक्षिण भारतीय फिल्म ‘केजिएफः च्याप्टर २’ को सफलतापछि निर्देशक प्रशान्त निलले पारिश्रमिक बढाएका छन्। उनले नयाँ फिल्मको लागि आफ्नो पारिश्रमिक दोब्बर बढाएका हुन्।
यतिबेला निर्देशक प्रशान्त ‘बाहुबली’ अभिनेता प्रभाससँग ‘सलार’ को छायांकनमा व्यस्त छन्। यो फिल्मलाई ‘केजिएफ’ निर्माण गर्न ब्यानर होमबोले फिल्म्सले निर्माण गरेको हो। यस फिल्मको लागि उनले २५ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएका थिए।
भारतीय सञ्चार माध्यम बलिउड लाइफका अनुसार उनले नयाँ फिल्मको लागि ५० करोड भारु पारिश्रमिक लिने भएका छन्।
‘सलार’ पछि उनी जुनियर एनटिआरसँग मैथरी मुभी मेकर्स र डिभिभि इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा काम गर्नेछन्। यी दुई फिल्मको लागि उनले ५० करोड भारु पारिश्रमिक लिने भएका हुन्। उनले ‘केजिएफ २’ को नाफाको केही प्रतिशत लिने शर्तमा काम गरेका थिए।
‘केजिएफ २’ ले विश्वव्यापी रुपमा एक हजार करोड भारतीय रुपैयाँ कमाइसकेको छ। तेस्रो सातामा आइपुग्दा पनि फिल्मको व्यापार घटेको छैन।
‘केजिएफ २’ एक हजार करोड क्लबमा समावेश हुने चौथो भारतीय फिल्म हो। यसअघि ‘आरआरआर’ ले एक हजार एक सय १५ करोड, ‘बाहुबली २’ ले एक हजार आठ सय १० करोड र ‘दंगल’ ले दुई हजार २४ करोड कमाएको छ। ‘केजिएफ’ ले तेस्रो नम्बरसम्म स्थान बनाउने भारतीय व्यापार विश्लेषकहरूको अनुमान छ।
मूल रूपमा कन्नड भाषामा निर्माण भएको यो फिल्म सन् २०१८ मा बनेको ‘केजिएफ १’ को दोस्रो भाग हो। ‘केजिएफ १’ सुपरहिट फिल्म हो, जसले कन्नड भाषामा सबैभन्दा धेरै पैसा कमाउन सफल फिल्मको रेकर्ड बनाएको छ। ‘केजिएफ २’ पनि बक्स अफिसमा दिन प्रतिदिन नयाँ रेकर्ड राख्दै आएको छ।
फिल्ममा यश, सञ्जय दत्त, रविना टण्डन र श्रीनिधि शेट्टी मुख्य भूमिकामा छन्।