बलिउड अभिनेता सैफ अली खानले आफ्ना छोरा इब्राहिम अली खानका बारेमा आफू चिन्तित रहेको बताएका छन्। हालै एक अन्तर्वार्तामा उनले आफ्ना जेठा छोरा इब्राहिमका बारेमा कुराकानी गर्दै यस्तो बताएका हुन्।
भारतीय सञ्चारमाध्यम दैनिक भाष्करका अनुसार सैफ इब्राहिमको भविष्यका बारेमा चिन्तित छन्।
सैफले भनेका छन्, 'इब्राहिममा म आफू जवान हुँदाको छवि देख्छु। म प्रार्थना गर्छु कि मेरो छोराको भविष्य उज्जवल होस्।'
इब्राहिम सैफ र उनकी पूर्व पत्नी तथा अभिनेत्री अमृता सिंहका छोरा हुन्। सारा अली खान इब्राहिमकी दिदी हुन्। साराले बलिउडमा प्रवेश गरेर आफ्नो ठाउँ बनाइसकेकी छन्। इब्राहिम भने अहिलेसम्म अभिनयमा प्रवेश गरिसकेका छैनन्।
सैफले इब्राहिमका बारेमा थप भनेका छन्, 'म इब्राहिमको करिअरलाई लिएर चिन्तित छु। तर मलाई खुसी छ कि ऊ साह्रै मेहनत गरिरहेको छ। स्कुलमा पनि ऊ राम्रो थियो। सबै अभिभावक जस्तै म पनि उसको उज्जवल भविष्यको कामना गर्छु।'
इब्राहिम आफ्ना बुवा सैफ जस्तै देखिन्छन्। सामाजिक सञ्जालमा बेलाबेला जवान सैफका तस्बिरसँग इब्राहिमको तस्बिर राखेर उनीहरूको समान अनुहारको चर्चा पनि हुन्छ।
सैफको कामको बारेमा कुरा गर्दा उनी 'विक्रम वेधा' नामक फिल्ममा काम गरिरहेका छन्। यो फिल्ममा ऋतिक रोशन पनि छन्। पुष्कर-गायत्रीद्वारा निर्देशित यो फिल्म सन् २०१७ को यही नामको तमिल फिल्मको रिमेक हो।
यसबाहेक ओम राउतको निर्देशनमा बनेको 'आदिपुरुष' मा पनि सैफ देखिँदैछन्। यसमा 'बाहुबली' अभिनेता प्रभास र कृति सेननको पनि मुख्य भूमिका छ।
सैफका छोरा इब्राहिम भने अहिले निर्माता तथा निर्देशक करण जौहरको फिल्म 'रकी और रानी की प्रेम कहानी' मा सहायक निर्देशकका रूपमा काम गर्दैछन्। यो फिल्मको निर्देशन भने करण जौहरले नै गरिरहेका छन्। फिल्ममा रणवीर सिंह, आलिया भट्ट, जया बच्चन, धर्मेन्द्र र शबाना आजमीको मुख्य भूमिका छ।