हाल दक्षिण भारतीय फिल्मले विश्वव्यापी रूपमा आक्रमक व्यापार गरिरहेको छ। दक्षिण भारतीय फिल्मले बलिउड फिल्मलाई समेत छायामा पारेको भारतीय फिल्मकर्मीहरूको भनाइ छ।
कुनै समय दक्षिण भारतीय फिल्महरू निकै कमजोर बन्थे। बलिउडमा आउने कलाकाहरू निकै संघर्ष गर्थे। तर अहिले उल्टो भएको छ। अहिले बलिउड कलाकारहरू दक्षिण भारतीय फिल्म खेल्न सजिलै तयार हुन्छन्।
'बाहुबली', 'केजिएफ' र 'पुष्पा'को सफलतापछि दक्षिण भारतीय फिल्मले बढी चर्चा पाएको हो।
आज हामी ठूला बजेटमा बनेका र प्रदर्शन हुन बाँकी केही दक्षिण भारतीय फिल्मको चर्चा गर्दैछौं।
१. आदिपुरुष
सन् २०२२ मा दक्षिण भारतीय अभिनेता प्रभासको फिल्म 'आदिपुरुष' प्रदर्शन हुँदैछ। फिल्ममा उनी भगवान रामको भूमिकामा देखिनेछन्। ओम राउतले निर्देशन गरेको फिल्ममा कृति सेनन र सैफ अली खानको पनि मुख्य भूमिका रहने छन्।
भुषण कुमार, कृष्ण कुमार र ओम राउतले निर्माण गरेको फिल्मको छायांकन सकिसकेको छ। चार सय करोड भारु बजेटमा बनेको फिल्म सन् २०२२ अगस्टसम्म प्रदर्शन हुने बताइएको छ।
२. लाइगर
दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डा 'लाइगर'मा बक्सरको भूमिकामा देखिदैछन्। फिल्ममा अनन्या पाण्डे, रोनित रोय, राम्या कृष्णनको पनि अभिनय छ। तमिल, कन्नड र मलायालम भाषामा डब गरिएको फिल्म हिन्दी र तेलुगू दुवै भाषामा प्रदर्शन हुनेछ।
पुरी जगन्नाथको निर्देशन निर्देशनमा बन्ने फिल्मको अहिले छायांकन भइरहेको छ।
३. सलार
दक्षिण भारतीय अभिनेता प्रभास अभिनित फिल्म 'सलार' कन्नड र तेलुगू भाषाको फिल्म हो। यो फिल्म दुवै भाषामा एकैसाथ खिचिएको छ। प्रशान्त नीलले निर्देशन गरेको फिल्मलाई विजय किरागन्दुरले निर्माण गरेका हुन्। उनीहरूले संयुक्त रूपमा 'केजिएफः च्याप्टर २' निर्माण गरेका थिए।
दुई सय करोड भारु बजेटमा बन्ने फिल्म हिन्दी, मलायालम, तमिल, तेलुगू, कन्नड गरी पाँच भाषामा प्रदर्शन हुनेछ। होम्बले फिल्म्स ब्यानरमा निर्माण भएको फिल्म सन् २०२३ को मध्यसम्म प्रदर्शन हुने बताइएको छ।
४. पुष्पाः द रुल
अल्लु अर्जुनको 'पुष्पाः द रुल' सन् २०२३ मा प्रदर्शन हुनेछ। यसअघि फिल्म सन् २०२२ डिसेम्बरमा प्रदर्शन हुने भनिएको थियो। तर अब २०२३ मा धकेलिएको छ। भारतीय सञ्चार माध्यमका अनुसार 'केजिएफ २' भन्दा शानदार बनाउने भन्दै निर्देशक सुकुमार कुमार फिल्मको फाइटिङ सिक्वेन्स र कथालाई बढाउँदा फिल्मको प्रदर्शन मिति धकेलिएको हो।
५. हरी हरा भिरा मल्लु
कृष जगरलामुडीको निर्देशनमा बनेको फिल्म 'हरी हरा भिरा मल्लु'मा पवन कल्याण र निधि अग्रवालको मुख्य भूमिका रहनेछ। पिरियड एक्सन फिल्ममा पवन र निधिसँगै बलिउड अभिनेता अर्जुन रामपाल र ज्याकलिन फर्नान्डिजको पनि अभिनय रहनेछ। भारु एक सय ५० करोड बजेट रहेको फिल्म सन् २०२२ मा नै प्रदर्शन गर्न निर्माण पक्षको तयारी छ।
६. सरकारु वारी पाता
दक्षिण भारतीय अभिनेता महेश बाबुको फिल्म 'सरकारु वारी पाता'लाई परशुरामले निर्देशन गर्नेछन्। परशुरामले निर्देशन गरेको फिल्म 'गीता गोविन्दा' बक्स अफिसमा सफल भएको थियो। यो फिल्मले बक्स अफिसमा एक सय ३० करोड भारु कमाएको थियो।
उनै निर्देशक परशुराम एक्सन कमेडी फिल्म निर्देशन गर्दैछन्। यो फिल्म ठूलो बजेटमा बन्ने बताइएको छ। फिल्ममा महेशसँगै अभिनेत्री कीर्ति सुरेश र कमेडियन भेनेला किशोरको अभिनय रहेको छ।
७. विक्रान्त रोना
अनुप भण्डारीको निर्देशनमा बन्ने फिल्म 'विक्रान्त रोना'मा किच्चा सुदीपको मुख्य भूमिका छ। फिल्मको कथा तथा पटकथा निर्देशक भण्डारीले नै तयार पारेका हुन्।
जी स्टुडिओ र किच्चा क्रिएसन्सको ब्यानरमा निर्माण भएको फिल्ममा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज पनि मुख्य भूमिकामा देखिनेछिन्। यो फिल्म महंगो बजेटमा तयार हुनेछ।
८. रामराव अन ड्युटी
दक्षिण भारतीय अभिनेता रवि तेजाको एक्सन फिल्म 'रामाराव अन ड्युटी' मार्चमा प्रदर्शन हुने भनिएको थियो। तर निर्माताहरूले पहिले एसएस राजामौलीको ठूलो बजेटको फिल्म 'आरआरआर' प्रदर्शन गरेपछि यस फिल्मको प्रदर्शन मिति धकेलिएको हो।
यो फिल्म सन् २०२२ जुन १७ मा प्रदर्शन हुँदैछ। फिल्ममा रविसँगै जय भीम, राजिशा विजयनको मुख्य भूमिका छ।
९. एजेन्ट
तीन पटक राष्ट्रिय चलचित्र पुरस्कार जितिसकेका अभिनेता मामुट्टी फिल्म 'एजेन्ट'मा देखिने छन्। सुरेन्द्र रेड्डीको निर्देशनमा बनेको फिल्ममा उनीसँगै अखिल अक्किनेनीको पनि मुख्य भूमिका छ।
१०. डन
सिवी चक्रवर्तीको निर्देशन रहेको फिल्म 'डन' मा शिब कार्तिकेयन, प्रियंका अरुल मोहन, एसजे सूर्या, समुथिराकनीको मुख्य भूमिका छ। यो फिल्म सन् २०२२ मे १३ मा प्रदर्शन हुँदैछ।
११. कोरतोला शिवाको आगामी फिल्म
निर्देशक कोरतला शिवा जुनियर एनटिआरसँग मिलेर काम गर्दैछन्। तीन सय करोडभन्दा बढी लागतमा निर्माण हुने फिल्मको नाम भने अझै तोकिएको छैन। यसको छायांकन सन् २०२२ को मध्यबाट सुरू बताइएको छ भने अर्को वर्ष प्रदर्शन हुनेछ।
भारतीय सञ्चार माध्यम जनभारत टाइम्सका अनुसार फिल्ममा 'आरआरआर' पछि आलिया भट्ट र जुनियर एनटिआरलाई एकसाथ देख्न सकिनेछ।
१२. प्रशान्त नीलको आगामी फिल्म
केजिएफका निर्देशक प्रशान्त नील 'सलार'पछि अर्काे फिल्म निर्देशनको तयारीमा छन्। उनी जुनियर एनटिआरलाई लिएर फिल्म बनाउँदैछन्।
भारतीय सञ्चार माध्यम बलिउड लाइफका अनुसार प्रशान्त नीलले यो फिल्मको लागि ५० करोड भारु पारिश्रमिक लिएका छन्।
१३. आरसी १५
शंकरको निर्देशन रहेको फिल्म 'आरसी १५' मा रामचरण र कियारा अड्वानीको मुख्य भूमिका छ। यो फिल्मको बजेट एक सय ७० करोड भारु रहेको बताइएको छ। यो फिल्ममा दिल राजुको लगानी छ।
(जनभारत टाइम्सको सहयोगमा तयार पारिएको)