दक्षिण भारतीय सिनेमा उद्योग फेरि एकपटक चर्चामा आएको छ। यसपालि कुनै फिल्म हिट भएर होइन, एक अभिनेताले दिएको अभिव्यक्तिका कारण हो।
ती अभिनेता हुन् दक्षिण भारतीय फिल्मका सुपरस्टार महेश बाबु। उनले हालै भनेका थिए 'मलाई बलिउडले धान्न सक्दैन।'
उनको यो भनाइलाई बलिउड मन नपराउनेहरूले सही थापेका छन् भने प्रशंसकहरूले बलिउडको 'महानता' लाई आफूभन्दा सानो ठानेका भन्दै उनको आलोचना गरेका छन्।
विशेषगरी तेलुगू फिल्मका सुपरस्टार महेश घट्टामनेनी अर्थात् महेश बाबुले हालै आफ्नो नयाँ फिल्म 'मेजर' को ट्रेलर सार्वजनिक क्रममा यस्तो भनेका थिए।
महेश बाबुलाई पत्रकारहरूले सोधेको एक प्रश्नको जवाफमा उनले आफूलाई बलिउडले 'अफोर्ड' गर्न नसक्ने बताएका हुन्। त्यसैले आफू बलिउडमा गएर समय बर्बाद नगर्ने उनले बताएका थिए। यसअघि पनि उनले दक्षिण भारतीय फिल्महरू नै संसारभरका दर्शकले मन पराइरहेका बेला किन बलिउड जानुपर्यो र भन्ने अभिव्यक्ति दिएका थिए।
महेश बाबुले पहिल्यैदेखि भन्दै आएका हुन्- उनलाई बलिउडका स्टार बन्नु छैन। उनलाई पहिल्यैदेखि धेरै बलिउड फिल्महरूको प्रस्ताप आए पनि उनी तेलुगूमै खुसी भएको बताएका थिए।
अहिले आएर उनले दिएको अभिव्यक्ति सुनेर धेरैले उनलाई घमन्डी पनि भनेका छन्। बलिउडले उनलाई धान्न सक्दैन भन्नुको अर्थ बलिउड फिल्म निर्माताहरूसँग उनलाई दिनसक्ने पारिश्रमिक छैन भन्ने रूपमा बुझिएको छ। अर्थात् महेश बाबु धेरै महँगा भए!
दक्षिण भारतीय फिल्मी दुनियाँका चर्चित अभिनेता भए पनि उनी हिन्दी भाषी दर्शकमाझ परिचित छन्।
'प्रिन्स अफ टलिवुड' भनिने महेश बाबु अहिलेसम्म ठूलो विवादमा नपरेका अभिनेता भनेर पनि चिनिन्छन्।
४७ वर्षे यी अभिनेताको एक्टिङ करिअर सानैमा सुरू भएको थियो। उनी तेलुगूका चिरपरिचित अभिनेता कृष्णाका छोरा हुन्। उनी 'नीडा' बाट बालकलाकारका रूपमा फिल्मी दुनियाँमा प्रवेश गरेका थिए। आठ वटा फिल्ममा बालकलाकारकै रूपमा अभिनय गरेका उनले 'राजाकुमारुडू' बाट जीवनकै पहिलो अवार्ड पनि जिते।
महेश बाबुले सन् २००३ को फिल्म 'ओक्काडू' मा कबड्डी खेलाडीको भूमिका निर्वाह गरेका थिए। यसलाई तेलुगूको सबभन्दा हिट फिल्ममध्ये मानिन्छ।
यसको दुई वर्षपछि 'अथाडु' ले पनि कमाइको सबै रेकर्ड तोडदियो। यसपछि उनले लगातार हिट फिल्म दिइराखे। 'मुरारी', 'पोकिरी', 'ननेक्कोडाइन', 'सरिमंथुडू', 'व्यापारी', 'सीथम्मा वकितलो सरिमल्ले चेट्टू' जस्ता फिल्मपछि महेश बाबुले अन्तर्राष्ट्रिय चर्चा पाए। साथै फिल्मफेयरको उत्कृष्ट अभिनेतासहित थुप्रै अवार्ड हात पारे।
सामाजिक सञ्जालमा प्रायः आफ्नो परिवारको फोटोहरू राखिरहने उनको भव्य जीवनशैली ती तस्बिरहरूमा देखिन्छ। उनको बिहे बलिउडमा समेत अभिनय गरिसकेकी नम्रता सिरोडकरसँग भएको हो। उनीहरूका एक छोरा र एक छोरी छन्।
सन् २०१२ को फोर्ब्स सेलिब्रिटी १०० को सूचीमा समावेश भएका महेश बाबुको हैदराबादमा घर छ। त्यो घर त्यहाँको सबभन्दा महँगो घरमध्ये एक हो। त्यहाँभित्र जिम, स्विमिङ पुल, मिनी थिएटरसहित थुप्रै सुविधाहरू छन्।
त्यस्तै उनको हैदराबादकै जुबिली हिल्समा तीस करोड भारू पर्ने दुई ठूला बंगला पनि छन्। बैंगलुरूमा पनि उनको धेरै सम्पत्ति भएको बताइएको छ।
एक कम्पनीको रिपोर्टअुनसार महेश बाबुको कुल सम्पत्ति करिब एक अर्ब ३५ करोड भारू छ। उनले एक फिल्मका लागि ५५ करोड भारूसम्म लिने र फिल्मको कमाइबाट नाफा कमिसन पनि लिन्छन्।
ब्रान्डहरूको विज्ञापन खेल्न उनले १५ करोड भन्दा धेरै लिन्छन्। उनीसँग एक करोडभन्दा बढी पर्ने ७ वटा भ्यानिटी भ्यान पनि छन्।
पछिल्ला २० वर्षमा ४० भन्दा धेरै फिल्म खेल्ने महेश बाबुको आफ्नै प्रोडक्सन हाउस पनि छ। महेश बाबुले 'सीरीमंथुडू', 'ब्रम्होत्सवम', 'स्पाइडर', 'भरत अने नेनु', 'महर्षि', 'सरिलेरू निकेवारू' र 'सरकारू वारी पाटा' जस्ता सुपरहिट फिल्म दिएर निर्माताहरूलाई समेत धनी बनाएका छन्।
उसो त बलिउड अभिनेताहरूसँग महेश बाबुको भन्दा धेरै सम्पत्ति छ। उनीहरूले लिने पारिश्रमिक पनि उनको भन्दा दोब्बरसम्म छ। सलमान खान, शाहरूख खान, ऋतिक रोशन, आमिर खान नै यो सय करोडभन्दा बढी पारिश्रमिक लिनेमा गनिन्छन्।
तै पनि महेश बाबुले किन आफूलाई बलिउडले नधान्ने भने त?
उनका प्रशंसकहरूले भने महेशले यो भनाइलाई पैसासँग जोडेर नभनेको टिप्पणी गरेका छन्। उनले दक्षिण भारतीय फिल्मी दुनियाँमा कमाएको स्टारडम बलिउडको भन्दा धेरै भएको भन्न खोजेका भन्दै प्रशंसकहरूले उनको बचाउ गरेका छन्।
(बिबिसीको सहयोगमा)