बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले १५ दिन नेपाललगायत अन्य देश जान अदालतसँग अनुमति मागेकी छन्।
उनले हालै दिल्ली अदालतमा नेपाल, आबुधाबी र फ्रान्स यात्रामा जान अनुमतिका लागि दिल्ली अदालतमा निवेदन पेश गरेकी हुन्।
ठगी मुद्धामा पक्राउ परेका सुकेश चन्द्र शेखरसँग सम्बन्ध भएको भन्दै उनलाई प्रवर्तन निर्देशनालय(इडी) ले देश छोडेर जान रोक लगाएको थियो। केही दिन अगाडि इडीले उनको ७ करोड २७ लाख भारतीय रुपैयाँको सम्पत्ति समेत जफत गरेको थियो।
भारतीय अखबार इन्डिया टुडेका अनुसार सुकेशले ज्याकलिनलाई ५ करोड ७१ लाखको उपहार दिएका थिए।
उनले नेपालमा यही जेठ १४ (मे २८) मा हुन लागेको ‘दबंग टुर रिलोडेड’ मा सहभागी हुन, आबुधाबीमा हुने आइफा अवार्डमा सहभागी हुन र फ्रान्स यात्रा गरी करिब १५ दिनको विदेश भ्रमणमा जान पाऊँ भन्दै निवेदन पेस गरेकी छन्।
यही प्रतिबन्धका कारण गत वर्ष दुबईमा भएको ‘दबंग टुर रिलोडेड’ मा पनि उनी जान पाएकी थिइनन्। उनलाई मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता पठाएको थियो। सोही दिनदेखि उनलाई मुम्बई छाडेर जान रोक लगाइएको हो।
उनको निवेदनमा अदालतले आउँदो मे २० तारिखमा सुनुवाई गर्नेछ।