दक्षिण भारतीय अभिनेता महेश बाबुले आफूलाई बलिउडले धान्न नसक्ने तथा बलिउड फिल्ममा काम गरेर समय बर्बाद नगर्ने जस्ता अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिलाई उनका समर्थकहरूले साथ दिएका थिए भने केही मानिसहरूले उनलाई घमण्डीको संज्ञा दिएका छन्।
उक्त अभिव्यक्तिपछि उनले सफाइ पनि दिए। उनको पिआर समूहले एक विज्ञप्ती जारी गर्दै सफाइ दिएका हुन्।
उनले आफ्नो सफाइमा सबै भाषालाई माया र सम्मान गर्ने बताएका छन्। ‘म जहाँ (दक्षिण भारतीय फिल्म उद्योग)मा काम गरिरहेको छु, त्यहाँ मलाई काम गर्नमा सहज लाग्छ। मलाई मेरो सपना पूरा भएकोमा खुशी लागिरहेको छ किनकी तेलुगू फिल्म उचाई छोइरहेको छ। मैले कुनै भाषालाई होच्याएर त्यसो भनेको होइन’, उनले भने।
‘मैले दक्षिण भारतीय फिल्म उद्योगमा जुन स्टाडम, मान र सम्मान पाएको छु। त्यो निकै ठूलो छ। त्यसैले म यो उद्योग छाडेर अर्को उद्योग जान सोच्न पनि सक्दिन। म सधैं फिल्ममा काम गर्ने र फिल्म उद्योगलाई बढाउने बारेमा सोच्छु। र, मेरो सपना पूरा भइरहेको छ।’
महेश बाबुले पहिल्यैदेखि भन्दै आएका हुन्- उनलाई बलिउडका स्टार बन्नु छैन। उनलाई पहिल्यैदेखि धेरै बलिउड फिल्महरूको प्रस्ताव आए पनि उनी तेलुगूमै खुसी भएको बताएका थिए।
बलिउडले उनलाई धान्न सक्दैन भन्नुको अर्थ बलिउड फिल्म निर्माताहरूसँग उनलाई दिनसक्ने पारिश्रमिक छैन भन्ने रूपमा बुझिएको छ। यसकारण महेश बाबुलाई महँगो अभिनेता भन्ने बुझिएको छ।
दक्षिण भारतीय फिल्मी दुनियाँका चर्चित अभिनेता भए पनि उनी हिन्दी भाषी दर्शकमाझ परिचित छन्।
‘प्रिन्स अफ टलिवुड’ भनिने महेश बाबु अहिलेसम्म ठूलो विवादमा नपरेका अभिनेता भनेर पनि चिनिन्छन्।
४७ वर्षे यी अभिनेताको एक्टिङ करिअर सानैमा सुरू भएको थियो। उनी तेलुगूका चिरपरिचित अभिनेता कृष्णाका छोरा हुन्। उनी ’नीडा’ बाट बालकलाकारका रूपमा फिल्मी दुनियाँमा प्रवेश गरेका थिए। आठ वटा फिल्ममा बालकलाकारकै रूपमा अभिनय गरेका उनले ‘राजाकुमारुडू’ बाट जीवनकै पहिलो अवार्ड पनि जिते।
महेश बाबुले सन् २००३ को फिल्म ‘ओक्काडू’ मा कबड्डी खेलाडीको भूमिका निर्वाह गरेका थिए। यसलाई तेलुगूको सबभन्दा हिट फिल्ममध्ये मानिन्छ।
यसको दुई वर्षपछि ‘अथाडु’ ले पनि कमाइको सबै रेकर्ड तोड्यो। यसपछि उनले लगातार हिट फिल्म दिइराखे। ‘मुरारी’, ‘पोकिरी’, ‘ननेक्कोडाइन’, ‘सरिमंथुडू’, ‘व्यापारी’, ‘सीथम्मा वकितलो सरिमल्ले चेट्टू’ जस्ता फिल्मपछि महेश बाबुले अन्तर्राष्ट्रिय चर्चा पाए। साथै फिल्म फेयरको उत्कृष्ट अभिनेतासहित थुप्रै अवार्ड हात पारे।
सामाजिक सञ्जालमा प्रायः आफ्नो परिवारको फोटोहरू राखिरहने उनको भव्य जीवनशैली ती तस्बिरहरूमा देखिन्छ। उनको बिहे बलिउडमा समेत अभिनय गरिसकेकी नम्रता सिरोडकरसँग भएको हो। उनीहरूका एक छोरा र एक छोरी छन्।
सन् २०१२ को फोर्ब्स सेलिब्रिटी १०० को सूचीमा समावेश भएका महेश बाबुको हैदराबादमा घर छ। त्यो घर त्यहाँको सबभन्दा महँगो घरमध्ये एक हो। त्यहाँभित्र जिम, स्विमिङ पुल, मिनी थिएटरसहित थुप्रै सुविधाहरू छन्।
त्यस्तै उनको हैदराबादकै जुबिली हिल्समा तीस करोड भारू पर्ने दुई ठूला बंगला पनि छन्। बैंगलुरूमा पनि उनको धेरै सम्पत्ति भएको बताइएको छ।
एक कम्पनीको रिपोर्टअुनसार महेश बाबुको कुल सम्पत्ति करिब एक अर्ब ३५ करोड भारू छ। उनले एक फिल्मका लागि ५५ करोड भारूसम्म लिने र फिल्मको कमाइबाट नाफा कमिसन पनि लिन्छन्।
ब्रान्डहरूको विज्ञापन खेल्न उनले १५ करोड भन्दा धेरै लिन्छन्। उनीसँग एक करोडभन्दा बढी पर्ने ७ वटा भ्यानिटी भ्यान पनि छन्।
पछिल्ला २० वर्षमा ४० भन्दा धेरै फिल्म खेल्ने महेश बाबुको आफ्नै प्रोडक्सन हाउस पनि छ। महेश बाबुले ‘सीरीमंथुडू’, ‘ब्रम्होत्सवम’, ‘स्पाइडर’, ‘भरत अने नेनु’, ‘महर्षि’, ‘सरिलेरू निकेवारू’ र ‘सरकारू वारी पाटा’ जस्ता सुपरहिट फिल्म दिएर निर्माताहरूलाई समेत धनी बनाएका छन्।