यतिबेला दक्षिण भारतीय अभिनेता महेश बाबु चर्चामा छन्।
उनले हालै ‘बलिउडले मलाई धान्न सक्दैन’ भन्दै अभिव्यक्ति दिएका थिए। यस अभिव्यक्तिपछि उनको चर्चासँगै आलोचना पनि भइरहेको छ।
उनको यो भनाइलाई बलिउड मन नपराउनेहरूले सही थापेका छन् भने प्रशंसकहरूले बलिउडको ‘महानता’ लाई आफूभन्दा सानो ठानेको भन्दै उनको आलोचना गरेका छन्।
उनको यस भनाइप्रति अभिनेता सुनिल शेट्टी, निर्माता बोनी कपूर, अभिनेत्री कंगना रनावतलगायत बलिउड फिल्मकर्मीहरुले आफ्नो प्रतिक्रिया दिएका छन्।
इन्डिया टुडेका अनुसार बलिउडका निर्देशक रामगोपाल वर्माले बलिउड कुनै कम्पनी नभएको बताएका छन्।
‘बलिउड कुनै कम्पनी होइन। यो सञ्चार माध्यमहरुले दिएको उपमा हो। एक व्यक्तिगत फिल्म कम्पनी वा प्रोडक्सन हाउसले तपाईंलाई लिएर फिल्म बनाउन सक्छ। कुन फिल्म खेल्ने हो, त्यो अभिनेताको अधिकारको कुरा हो। तर महेश बाबुले बलिउडलाई के भन्न खोजेका हुन् बुझ्न सकिएन’, निर्देशक वर्माले भने।
बलिउड अभिनेत्री कंगना रनावत महेश बाबुको समर्थनमा उत्रिएकी छन्।
‘म महेश बाबुको कुरामा सहमत छु। बलिउडका धेरै निर्देशकले उनलाई फिल्म अफर गरेका थिए। तर उनले बलिउड फिल्म खेल्न अस्वीकार गरे। महेश बाबु र उनका पुस्ताको केही कलाकारले तेलुगू फिल्मलाई नम्बर वान बनाए। उनले आफ्नो काम र आफ्नो उद्योगलाई महत्व दिए। हामीले उनीबाट सिक्न आवश्यक छ’ उनले भनिन्, ‘म सधैँ दक्षिण भारतीय फिल्मको प्रशंसक हुँ। हामी आफैमा लड्दै बस्नु हुँदैन। हामीले कन्नड, तेलुगु, तमिल, मलयालम, पन्जाबीजस्ता फिल्मलाई प्रोत्साहन गर्दै हलिउड फिल्मसँग प्रतिस्पर्धा गर्नुपर्छ।’
त्यस्तै, बलिउड फिल्मका निर्माता बोनी कपूरले बलिउड र दक्षिण भारतीय फिल्ममा छनोट गर्न नसक्ने बताए।
‘म यस विषयमा धेरै बोल्न सक्दिनँ किनकि म बलिउड र दक्षिण भारतीय फिल्म दुवैसँग जोडिएको छु। मैले तमिल र तेलुगू फिल्ममा काम गरेको छु। अब मलयालम र कन्नड फिल्ममा पनि काम गर्दैछु। महेश बाबुलाई जे लाग्छ, उनलाई भन्ने अधिकार छ। बलिउडले उनलाई धान्न सक्दैन भन्ने लाग्छ भने उनको लागि राम्रो होला।’
महेश बाबुले पहिल्यैदेखि आफू बलिउडका स्टार बन्नु छैन भन्दै आएका छन्। उनलाई पहिल्यैदेखि धेरै बलिउड फिल्महरूको प्रस्ताव आए पनि उनी तेलुगूमै खुसी भएको बताएका थिए।
अहिले आएर उनले दिएको अभिव्यक्ति सुनेर धेरैले उनलाई घमन्डी पनि भनेका छन्। बलिउडले उनलाई धान्न सक्दैन भन्नुको अर्थ बलिउड फिल्म निर्माताहरूसँग उनलाई दिनसक्ने पारिश्रमिक छैन भन्ने रूपमा बुझिएको छ। अर्थात् महेश बाबु धेरै महंगा भए।
उनका प्रशंसकहरूले भने महेशले यो भनाइलाई पैसासँग जोडेर नभनेको टिप्पणी गरेका छन्। उनले दक्षिण भारतीय फिल्मी दुनियाँमा कमाएको स्टारडम बलिउडको भन्दा धेरै भएको भन्न खोजेका भन्दै प्रशंसकहरूले उनको बचाउ गरेका छन्।
अभिनेता महेशले पनि सबै भाषालाई माया र सम्मान गर्ने भन्दै सफाइ दिएका छन्।