बलिउड अभिनेता सलमान खानका भाइ अभिनेता तथा निर्देशक सोहेल खान र उनकी पत्नी सीमा सचदेव सम्बन्धविच्छेदका लागि मुम्बई पारिवारिक कोर्ट पुगेका छन्।
उनीहरूले विवाह गरेको २४ वर्षपछि सम्बन्धविच्छेद गर्न लागेका हुन्।
भारतीय सञ्चार माध्यम इटाइम्सका अनुसार उनीहरू लामो समयदेखि अलगिएर नै बसिरहेका थिए। उनीहरूको दुई छोरा निर्भान र योहान छन्।
सीमा सहजदेहले इटाइम्ससँग कुराकानी गर्दै भनिन्, ‘म अब सिंगल र स्वतन्त्र छु।’
सीमा फेसन डिजाइनर हुन्। उनी मुम्बईमा एउटा फेसन हाउस सञ्चालन गर्दै आइरहेकी छन्।
सोहेल र सीमाले सन् १९९८ मा प्रेम विवाह गरेका थिए। उनीहरूले सीमाका परिवारको सहमति बिना विवाह गरेका हुन्।
यसअघि सोहेलका दाइ अरबाज खान र उनकी पत्नी मलाइका अरोडाको पनि सम्बन्धविच्छेद भएको थियो।
भारतीय सञ्चार माध्यमका अनुसार मलाइकाले १० करोड भारतीय रुपैयाँ माग गरेकी थिइन्। तर, अरबाजले मलाइकालाई १५ करोड रुपैयाँ दिएका थिए।