बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ।
उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी ट्वीटमार्फत दिएका हुन्। अक्षय दोस्रो पटक कोरोना संक्रमित भएका हुन्। यसअघि उनी कोरोनाको दोस्रो लहरमा संक्रमित भएका थिए।
कोरोना संक्रमणका कारण उनी 'कान्स फिल्म फेस्टिभल'मा सहभागी नहुने भएका छन्।
फिल्म फेस्टिभलमा भारतलाई ‘कन्ट्री अफ अनर’को रुपमा निमन्त्रणा गरिएको छ। जसमा अभिनेता अक्षय कुमार केन्द्रीय मन्त्री अनुराग ठाकुरसँग भारतीय प्रतिनिधिमन्डलको रुपमा सहभागी हुँदै थिए।
‘म कान्स २०२२ मा सहभागीताका लागि निकै उत्साहित थिएँ। तर कोरोना संक्रमण हुँदा निकै दुखी छु। अनुराग ठाकुर तपाईं र तपाईंको टोलीलाई धेरै-धेरै शुभकामना! त्यहाँ जान नपाउँदा कमी महसुस गर्नेछु,’ उनले लेखेका छन्।
यस साता अक्षय कुमार अभिनित फिल्म 'पृथ्वीराज'को ट्रेलर सार्वजनिक भएको थियो। चन्द्रप्रकाश द्विवेदीको लेखन तथा निर्देशन रहेको फिल्ममा उनले पृथ्वीराज चौहानको भूमिका निभाएका छन् भने राजकुमारी संयोगिताको भूमिकामा पूर्व विश्व सुन्दरी मानुषी छिल्लर देखिँदै छिन्।
यो फिल्म यही जुन ३ अर्थात् जेठ २० गतेबाट प्रदर्शन हुँदैछ।