यतिबेला चर्चामा छन् दक्षिण भारतीय अभिनेता महेश बाबु। उनले ‘बलिउडले मलाई धान्न सक्दैन’ भन्दै दिएको अभिव्यक्तिका कारण चर्चासँगै आलोचना खेपिरहेका छन्।
उनै अभिनेता महेश बाबुको फिल्म ‘सरकारु वारी पाटा’ गत साता बिहीबारदेखि प्रदर्शन भइरहेको छ। फिल्मले ४७ करोड ४ लाख भारतीय रुपैयाँमा शानदार ओपनिङ गरेको थियो। तर, दोस्रो दिन फिल्मको कमाइमा भारी गिरावट आएको थियो। फिल्मले दोस्रो दिनमा १७ करोड २० लाख भारु कमाएको छ।
शनिबार भने फिल्मको व्यापारमा केही सुधार आएको थियो। फिल्मले तेस्रो दिन १९ करोड २० लाख भारु कमाएको छ।
भारतीय सञ्चार माध्यम अमर उजालाका अनुसार फिल्मले चैथो दिन २० करोड बढी कमाएको अनुमान छ। यसलाई आधार मान्ने हो भने फिल्मले आइतबारसम्म बक्स अफिसमा एक सय चार करोड २० लाख भारु जम्मा गरेको छ।
त्यस्तै शुक्रबारबाट बलिउड अभिनेता रणवीर सिंहको फिल्म 'जयेशभाइ जोरदार' प्रदर्शनमा आएको छ। यो फिल्मले बक्स अफिसमा निकै कमजोर व्यापार गरिरहेको छ। फिल्मले तीन करोड २५ लाख भारुमा ओपनिङ गरेको छ।
फिल्मले दोस्रो दिनमा ४ करोड भारु कमाएको थियो भने तेस्रो दिन ४ करोड ४५ लाख भारु कमाएको छ। फिल्मले आइतबारसम्म जम्मा ११ करोड ७० लाख भारु कमाएको छ। यशराज फिल्म्स ब्यानरबाट निर्माण भएको फिल्मलाई भारतीय समीक्षकहरूले पनि कमजोर बताएका छन्।
दुवै फिल्मले कमजाेर व्यापार गरेसँगै यसकाे फाइदा दक्षिण भारतीय फिल्म ‘केजिएफ २’ लाई हुने देखिन्छ। यो फिल्मले प्रदर्शनको ३२ औँ दिनमा समेत राम्रो व्यापार गरिरहेको छ।
‘केजिएफ २’ ले दिनमा ४ करोडभन्दा बढी व्यापार गरिरहेको छ। फिल्मले भारतीय बक्स अफिसमा आठ सय ४० करोड ७२ लाख भारु कमाएको छ।