बलिउड अभिनेता कार्तिक आर्यन अभिनित फिल्म ‘भूल भूलैया २’ ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।
गत शुक्रबारदेखि प्रदर्शन भएको फिल्मले पाँच दिनमा ७६ करोड २७ लाख भारतीय रुपैयाँ कमाइ गरेको छ।
भारतीय बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले शुक्रबार १४ करोड ११ लाख भारुको ओपनिङ गरेको थियो। फिल्मले दोस्रो दिन १८ करोड ३४ लाख, तेस्रो दिन २३ करोड ५१ लाख, चोथो दिन १० करोड ७५ लाख र पाँचाै दिन ९ करोड ५६ लाख भारु कमाएको छ।
हरर कमेडी फिल्म भारतमा ३२०० पर्दामा प्रदर्शन भइरहेको छ। फिल्म केही दिनमै सय करोड क्लबमा सामेल हुने देखिएको छ।
अनिस बझ्मीले निर्देशन गरेको फिल्ममा कार्तिक आर्यनसँगै कियारा आडवानी, तब्बू, राजपाल यादव, परेश रावल, अंगद बेदीलगायत कलाकारको अभिनय छ।
‘भूल भूलैया २’ले २०२२ मा प्रदर्शनमा आएका बलिउड फिल्ममध्ये सबैभन्दा ठूलो ओपनिङ हासिल गरेको छ। यसअघि फिल्म ‘बच्चन पान्डे’ले पहिलो दिन १३ करोड २५ लाख भारु र फिल्म ‘गंगूबाई काठियावाडी’ले १० करोड ५० लाख भारु कमाई गरेका थिए।
‘भूल भूलैया २’ कार्तिकको करिअरको पनि सबैभन्दा ठूलो ओपनर फिल्म बनेको छ। यसअघि उनी अभिनित फिल्म ‘लभ आज कल’ले १२ करोड ४० लाख, ‘पति पत्नी और वो’ले ९ करोड १० लाख, ‘लुका छुपी’ले ८ करोड, ‘प्यार का पंचनामा २’ ले ६ करोड ८० लाख र ‘सोनू के टीटू की स्वीटी’ले ६ करोड ४२ लाख कमाएको थियो।