बलिउड अभिनेत्री कंगना रनावत अभिनित एक्सन फिल्म ‘धाकड’ प्रदर्शन भइरहेको छ।
गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म बक्स अफिसमा असफल सावित भइसकेको छ। धाकडलाई प्रदर्शनको पाँच दिनमा पाँच करोड कमाउन पनि मुस्किल परेको छ।
दर्शक नआएको भन्दै भारतका विभिन्न हलले फिल्मलाई हटाइसकेको छ भने केही हलमा प्रदर्शन भइरहेको छ। यो फिल्म बक्स अफिसमा असफल भएपछि कंगनाले आगामी फिल्म 'इमरजेन्सी'को घोषणा गरेकी छन्।
उनले सामाजिक सञ्चालमा एक तस्बिर सार्वजनिक गर्दै फिल्म निर्माण घोषणा गरेकी हुन्। उक्त तस्बिरमा उनी निर्माण टोलीसँग छलफल गरिरहेको देख्न सकिन्छ।
भारतीय सञ्चार माध्यम दैनिक जागरणका अनुसार यो फिल्मलाई कंगनाले आफैले निर्देशन गर्नेछिन्।
यो फिल्म भारतकी पहिलो महिला प्रधानमन्त्री इन्दिरा गान्धीको जीवनीमा आधारित हुनेछ। कंगना पहिलो पटक इन्दिरा गान्धीको भूमिका निभाउँदैछिन्।
प्रधानमन्त्री गान्धीले देशमा ‘इमरजेन्सी’ घोषणा गरेको समयलाई फिल्ममा प्रस्तुत गरिनेछ। उनले सन् १९७५ जुन २५ देखि १९७७ मार्च २१ सम्म आपतकालीन समय घोषणा गरेकी थिइन्।