पञ्जाबी गायक तथा नेता सिद्धू मूसेवालाको गोली हानेर हत्या भएको छ।
गोली लागेपछि आइतबार उनलाई सिभिल अस्पतालमा पुर्याइएकाे थियो। तर अस्पतालमा पुग्ने बित्तिकै उनलाई मृत घोषित गरिएको थियो।
भारतीय सञ्चार माध्यम दैनिक भास्करका अनुसार झावाहर गाउँको एक मन्दिर नजिकै मूसेवाला र उनका साथीहरूमाथि गाडीमा अज्ञात व्यक्तिहरूले फायरिङ गरेका थिए। सिद्धूलाई १० पटक गोली हानिएको बताइएको छ।
यस घटनाको जिम्मेवारी क्यानडा बस्ने ग्याङ्गस्टार गोल्डी बराडले लिएका छन्।
यसै घटनामा अन्य दुई जना घाइते भएका छन्। उनीहरूलाई हाल अस्पतालमा भर्ना गरिएको छ।
उनको हत्या आम आदमी पार्टी सरकारले सुरक्षा हटाएको एक दिनपछि भएको हो। उक्त सरकारले ४२४ जना व्यक्तिको सुरक्षा हटाएको थियो जसमा मूसेवाला पनि सामेल थिए। यसभन्दा अगाडि अप्रिलमा पञ्जाब सरकारले पूर्व मन्त्री र नेतासहित १८४ जनाको सुरक्षा फिर्ता लिएको थियो।
मूसेवालाले विधानसभाको चुनावभन्दा अघि कांग्रेसमा प्रवेश गरेका थिए। उनले कांग्रेसबाट उम्मेद्वारी पनि दिएका थिए तर उनले हारेका थिए।
कांग्रेसले उनलाई मानसा विधानसभा क्षेत्रबाट टिकट दिएपछि तत्कालीन विधायक नजर सिंह मनशाहियाले विवादित गायकलाई टिकट दिएको भन्दै विरोध गरेका थिए।