मंगलबार साँझ भारतीय गायक केके (कृष्ण कुमार कुन्नथ) को निधन भयो। हृदयघातका कारण उनको निधन भएको भारतीय सञ्चार माध्यममा उल्लेख छ।
कलकत्तामा सांगीतिक प्रस्तुती दिइसकेपछि अस्वस्थ भएका उनलाई कलकत्ताकै मेडिकल रिसर्च इन्स्टिच्युट अस्पतालमा लगिएको थियो। तर अस्पताल पुर्याउनासाथ चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।
उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्।
केकेले सन् १९९९ मा आएको ‘पल’ एल्बममा समावेशी ‘याद आएगी ए पल’ बोलको गीत गाएका थिए। उनले यसभन्दा अघि नै हजारौं जिंगल गाइसकेका थिए। तर उनलाई यसै गीतले पहिचान दिलायो।
त्यसपछि उनले कहिले पछाडि फर्केर हेर्नु परेन। ‘हम दिल दे चुके सनम’ फिल्मका लागि ‘तडपतडप के इस दिल से’ बोलको गीतले उनलाई अलग उचाइमा पुर्यायो।
उनी गायक मात्रै थिएनन्, एक कुशल संगीतकार पनि थिए।
उनले ‘हमको प्यार हुवा, अभि अभि, जिन्दगी दो पल कि, खुदा जाने, आँखो मे तेरी, ओ मेरी जान, जरा सा, दिल इबादत, इन्डिया वाले, आइ एम इन लभ, पिया आएना, तुजे सोचता हुँ, दिल ये क्यु मेरा, दिन आजकल, तेरा मेरा रिस्ता, तु जो मिला, तुने मारी इन्ट्रिया’ लगायत थुप्रै हिट गीत गाएका छन्।
उनले धेरै यादगार गीतहरू दिएका छन्। उनको अन्तिम रिलिज गीत दीपिका पादुकोण र रणवीर सिंहको '८३' को लागि थियो।
केकेको अन्तिम रिलिज भएको गीत
रणवीर सिंह र दीपिका पादुकोण अभिनित फिल्म ‘८३’ को ‘ए हौसले’ बोलको गीत सार्वजनिक भएको धेरै भएको छैन। यो गीत २०२२ फेब्रुअरी ४ मा रिलिज भएको थियो। जुन केकेको अन्तिम गीत बनेको छ। कौसर मुनिरको शब्द रहेको गीतमा प्रीतमले संगीत भरेका छन्।