अक्षय कुमार र मानुषी चिल्लरको बलिउड फिल्म 'सम्राट पृथ्वीराज' लाई ओमन र कुवेतमा प्रतिबन्ध लगाइएको छ।
भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार यी दुई देशले सम्राट पृथ्वीराजको प्रदर्शनमा रोक लगाएका हुन्।
यी देशले फिल्म प्रदर्शन हुन किन नदिएका हुन् भन्नेबारे कुनै जानकारी अहिलेसम्म प्राप्त भएको छैन। त्यस्तै यसको आधिकारिक घोषणा पनि हुन बाँकी नै रहेको छ। फिल्म निर्माण टोलीले यसबारे निधो गरेर जानकारी दिने बताइएको छ।
सम्राट पृथ्वीराज आगामी शुक्रबार भारतमा प्रदर्शन हुँदैछ। फिल्म भारतीय योद्धा पृथ्वीराज चौहानको जीवनकथामा आधारित छ। पृथ्वीराजको भूमिकामा अक्षय कुमार छन् भने मानुषीले राजकुमारी संयोगीताको भूमिका निर्वाह गरेकी छन्।
चन्द्रप्रकाश द्विवेद्वीको लेखनमा बनेको यो फिल्म मानुषीको डेब्यू हो। सुरूमा यो फिल्मको नाम 'पृथ्वीराज' मा राखिएको थियो। तर गत मे २७ मा निर्माण टोलीले फिल्मको नाम फेरेर सम्राट पृथ्वीराज राखेको हो।
हिन्दुस्तान टाइम्सका अनुसार कर्नी सेना समूहले फिल्मको नाम बदल्न भन्दै टोलीलाई पत्र लेखेको थियो।