बलिउड अभिनेता शाहरुख खान ‘डंकी’ र ‘पठान’ पछि नयाँ फिल्ममा देखिने भएका छन्।
लामो समयदेखि शाहरुख दक्षिण भारतीय निर्देशक एटली कुमारको फिल्ममा देखिने चर्चा थियो। बलिउड हंगामाका अनुसार यस फिल्मको नाम ‘जवान’ राखिएको छ। तर आधिकारिक घोषणा गरिएको छैन।
फिल्ममा शाहरुखसँगै दक्षिण भारतीय अभिनेत्री नयनतारा देखिनेछिन्। यो फिल्म २०२३ मा प्रदर्शन हुने बताइएको छ।
पहिला यस फिल्मको नाम ‘लाइन’ बताइएको थियो। तर फिल्मको नाम ‘लाइन’ हो कि ‘जवान’ पुष्टि गरिएको छैन।
शाहरुखले फिल्मको स्क्रिप्ट परिवर्तन गर्न माग गरेका थिए। निर्देशक एटलीले उनको कुरालाई सम्मान गर्दै स्क्रिप्ट परिवर्तन गरेको भारतीय सञ्चार माध्यममा उल्लेख छ।
फिल्ममा शाहरुख डबल रोलमा देखिनेछन् भने नयनतारा पुलिस अफिसरको भूमिकामा देखिनेछिन्। शाहरुख र नयनतारासँगै फिल्ममा सान्या मल्होत्रा र सुनिल ग्रोवरको पनि अभिनय रहनेछ।
सिद्धार्थ अन्नदले निर्देशन गरेको फिल्म 'पठान' २०२३ जनावरी २५ बाट प्रदर्शन हुँदैछ। फिल्ममा शाहरुखसँगै दीपिका पादुकोण, डिम्पल कपाडिया, आशुतोष राणा, जोन अब्राहम र सलमान खान पनि देखिनेछन्।
राजकुमार हिरानीको निर्देशन रहेको फिल्म ‘डंकी’ सन् २०२३ डिसेम्बर ११ बाट प्रदर्शन हुनेछ। निर्देशक हिरानी र गौरी खानले निर्माण गर्न लागेको फिल्ममा शाहरुख खान र तापसी पन्नूको मुख्य भूमिका छ।
‘जवान’सँगै शाहरुखको आगामी वर्ष तीन वटा फिल्म प्रदर्शन हुने भएको छ।