बलिउड अभिनेता आमिर खानको आगामी फिल्म ‘लाल सिंह चड्डा’ विवादको कारण चर्चामा छ।
भारतीय सञ्चार माध्यम बलिउड लाइफका अनुसार आमिरको फिल्म ट्रोलको शिकार भइरहँदा ट्विटरको ट्रेन्डिङमा रहेको छ। ट्रोलरले उनको फिल्मलाई कपि गरेको भन्दै बहिस्कारको नारा लगाइरहेका छन्।
केही समयअगाडि आइपीएलको फाइनल म्याचमा फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो। ट्रेलर सार्वजनिक भएपछि फिल्मलाई बहिस्कार गर्ने ट्रेन्ड चलेको हो।
यो फिल्म हलिउड फिल्म 'फरेस्ट गम्प'को आधिकारिक हिन्दी रिमेक हो। जसमा टम ह्याक्सले मुख्य भूमिका निभाएका थिए।
आमिरको फिल्मले 'फरेस्ट गम्प'लाई न्याय दिन नसकेको भन्दै सामाजिक सञ्जालमा ट्रोल भइरहेको छ।
त्यस्तै आमिरले भारतीय सभ्यता र संस्कृतिको विरुद्धमा पहिला धेरै बयान दिएको आरोप सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले लगाएका छन्।
आमिर खानको फिल्मको विरोध गर्दै एक प्रयोगकर्ताले ट्विटरमा लेखेका छन्, 'आमिर खान भन्छन्- देश असहिष्णु भएको छ र उनी भारत छोड्न चाहन्छन्।'
अर्का प्रयोगकर्ताले लेखेका छन्, 'साथीहरू, करीना कपूर आफै भन्छिन् कि म आफ्नै फिल्म हेर्दिनँ। त्यसैले उनीहरूको फिल्म हेर्न नजानुहोस्।'
यसबाहेक धेरै प्रयोगकर्ताहरूले आमिर खानलाई मिमहरू सेयर गर्दै ट्रोल गरेका छन्।
हालै उत्तर प्रदेशको सुल्तानपुरमा आमिर खान र उनको फिल्म 'लाल सिंह चड्डा'को विरोधमा हिन्दु संगठनले प्रदर्शन गरेका थिए। सडकमा आमिर खानको पोस्टर च्यातेर जलाइएको थियो।
'ठग्स अफ हिन्दोस्तान' बक्स अफिसमा असफल भएको चार वर्षपछि आमिरले फिल्म 'लाल सिंह चड्डा' मार्फत हलमा फर्किएका छन्।
अद्वैत चन्दनले निर्देशन गरेको फिल्ममा आमिर खानसँगै करीना कपूर खान देखिँदैछिन्।