बलिउड अभिनेता अक्षय कुमार बक्स अफिसका हिट मेशिन मानिन्छन्।
उनको वर्षमै ४/५ वटा फिल्म प्रदर्शनमा आउँछन्। गत वर्ष बक्स अफिसमा उनकै कब्जा थियो। तर यो वर्ष भने उनको लागि खासै फलदायी देखिएको छैन।
पछिल्लो समय प्रदर्शनमा आएका फिल्म बक्स अफिसमा लगातार फ्लप भइरहेको छ। गत शुक्रबार 'सम्राट पृथ्वीराज' प्रदर्शनमा आएको छ। तर फिल्मले बक्स अफिसमा खासै राम्रो व्यापार गर्न सकेन।
भारतीय योद्धा पृथ्वीराज चौहानको जीवनकथामा आधारित फिल्मले राम्रो व्यापार गर्ने फिल्मकर्मीको आशा थियो। तर फिल्मले बक्स अफिसमा कमजोर सुरुआत गरेको छ।
फिल्मले भारतीय बक्स अफिसमा १० करोड ७० लाख भारु कमाएको छ। यो उनको पछिल्लो समय प्रदर्शन भएको फिल्म 'बच्चन पाण्डे'को कमाइभन्दा कम हो।
'बच्चन पाण्डे'ले १३ करोड २५ लाख भारुको ओपनिङ गरेको थियो। यो फिल्म बक्स अफिसमा फ्लप सावित भइसकेको छ।
यसभन्दा अगाडि उनका फिल्मले बक्स अफिसमा राम्रो सुरुआत गरेका थिए। गत वर्ष प्रदर्शन भएको फिल्म ‘सूर्यवंशी’ले २६ करोड २९ लाख भारुको ओपनिङ गरेको थियो भने 'गुड न्यूज' १७ करोड ५६ लाख भारु, हाउसफुल ४ ले १६ करोड ३० भारु, मिसन मंगलले २९ करोड १६ लाख भारु, केसरीले २१ करोड ६ लाख भारु, २.० ले २० करोड २५ लाख भारु र गोल्डले २५ करोड २५ लाख भारुको ओपनिङ गरेको थियो।
अक्षयका पछिल्लाे १० फिल्ममध्ये 'बेलबटम' सबैभन्दा कमजोर देखिएको छ। यो फिल्मले २ करोड ७५ लाख भारुको ओपनिङ गरेको थियो।