गत शुक्रबारबाट भारतीय बक्स अफिसमा तीन फिल्म प्रदर्शनमा आएको छ।
अक्षय कुमारको फिल्म ‘सम्राट पृथ्वीराज’, कमल हसनको ‘विक्रम’ र अदिवी शेषको फिल्म ‘मेजर’ प्रदर्शनमा आएको हो। बक्स अफिसमा अक्षयको ‘सम्राट पृथ्वीराज’ भन्दा ‘विक्रम’ले राम्रो व्यापार गरिरहेको छ।
कमल हसनको फिल्म ‘विक्रम’ले दुई दिनमा ६० करोड ७५ लाख भारु कमाएको छ। तीन दिनमा फिल्मले ९१ करोड भारु बढि कमाएको भारतीय बजार विश्लेषकको अनुमान छ।
लोकेश कनागराजले निर्देशन गरेको फिल्ममा कमल हसनसँगै विजय सेतुपति र फहाद फासिलको अभिनय छ।
भारतीय योद्धा पृथ्वीराज चौहानको जीवनकथामा आधारित फिल्म ‘सम्राट पृथ्वीराज’ले बक्स अफिसमा कमजोर व्यापार गरेको छ।
फिल्मले भारतीय बक्स अफिसमा पहिलो दिन १० करोड ७० लाख भारु कमाएको छ। दोस्रो दिनमा १२ करोड ५० लाख भारु गरेको फिल्मले तेस्रो दिनमा १६ करोड २० लाख भारु कमाएको छ। यो सँगै फिल्मले तीन दिनमा ३९ करोड ५० लाख भारु व्यापार गरेको छ।
चन्द्रप्रकाश द्विवेद्वीको लेखन तथा निर्देशनमा बनेको फिल्ममा अक्षय कुमारले पृथ्वीराजको भूमिका निभाएका छन् भने मानुषी छिल्लरले राजकुमारी संयोगीताको भूमिका निर्वाह गरेकी छन्। यो फिल्म मानुषीको डेब्यू हो।