चर्चित भारतीय फेसन डिजाइनर प्रत्यूषा गरिमेलाको निधन भएको छ।
भारतीय सञ्चार माध्यम दैनिक भास्करका अनुसार ३५ वर्षिया प्रत्यूषा तेलङगानास्थित बन्जारा हिल्समा आफ्नै घरकाे बाथरुममा मृत अवस्थामा भेटिएकी हुन्।
उनको कोठाबाट एउटा कार्बन मोनोअक्साइडको सिलिन्डर बरामद भएको छ। प्रहरीले शंकास्पद मृत्यु भएको भन्दै उजुरी दर्ता गराएको छ।
प्रहरीका अनुसार उनले मृत्यु हुनुभन्दा अगाडि कार्बन मोनोअक्साइड सुँघेकी थिइन्। उनी डिप्रेशनमा थिइन्। थप छानबिन गर्न उनको शव पोस्टमार्टमको लागि उस्मानिया हस्पिटलमा पठाइएको छ।
पुलिसलाई यस घटनाको जानकारी प्रत्यूषाको सेक्यूरिटी गार्डले दिएका थिए।
बञ्जारा प्रहरी स्टेशनका इन्स्पेक्टर नागेश्वर रावले प्रत्यूषाको कोठाबाट एक नोट समेत फेला परेको जानकारी दिएका छन्। उनले नोटमा कसैलाई दोष लगाएकी छैनन्।
'म निकै एक्लो महसुस गरिरहेको छु र डिप्रेशनमा छु,' उनले लेखेकी छन्। डिप्रेशनकै कारण आत्महत्या गरेर उनको मृत्यु भएको आशंका गरिएको छ। यस मुद्दामा प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ।
प्रत्यूषाले अमेरिकाबाट फेसन डिजाइन पढेकी थिइन्। त्यसपछि उनले हैदराबादबाट फेसन डिजाइनरका रुपमा करियर सुरु गरेकी थिइन्। सन् २०१३ मा उनले आफ्नो नामको एक लेबल पनि सुरु गरेकी थिइन्।
उनले बलिउड र दक्षिण भारतीय अभिनेत्रीको लागि ड्रेस डिजाइन गरेकी छन्। उनले माधुरी दिक्षित, रवीना टण्डन, काजोल, परिणिती चोपडा, हुमा कुरैशी, श्रीया सरन, काजल अग्रवाल, जूही चावला, गौहर खान, नेहा धुपिया, भूमि पेडनेकरलगायतका अभिनेत्रीहरूको ड्रेस डिजाइन गरिसकेकी छन्।