बलिउड अभिनेता जोन अब्राहमको पछिल्लो समय प्रदर्शन भएको फिल्म 'अट्याक पार्ट १' हलमा प्रदर्शन भएको एक महिनापछि ओटिटीमा प्रदर्शन भएको थियो। अब रिलिजको दुई महिनापछि उनले आफ्नो फिल्म ओटिटीमा प्रदर्शन नगर्ने बताएका छन्।
उनले इटाइम्ससँग कुराकानी गर्दै २९९ या ४९९ रुपैयाँमा सानो पर्दामा नदेखिने बताए।
‘म ठूलो पर्दाको हिरो हुँ र यही रहन चाहन्छु। म ठूला पर्दामा मात्र काम गर्न चाहन्छु। मलाई नराम्रो लाग्छ कोही घरमा बसेर फिल्म हेर्दा बीचमै रोकेर बाथरुम जाओस्। म चाहन्नँ कि मलाई घरमै बसेर २९९ या ४९९ रुपैयाँमा हेरून्। मलाई यस्तो कुरा चित्त बुझ्दैन,’ उनले भने।
निर्माताकाे हिसाबले आफूलाई ओटिटी माध्यम मनपर्ने बताउँदै उनले भने, ‘म यस माध्यमको लागि फिल्म बनाउँछु तर एक अभिनेता भएको नाताले के स्पष्ट छु भने म ठूलो पर्दामा नै काम गर्न चाहन्छु।’
जोनको आफ्नै प्रोडक्सन हाउस छ जसको नाम ‘जोन अब्राहम एन्टरटेन्मेन्ट’ हो। उनले आफ्नो प्रोडक्सन हाउसबाट २०१२ मा फिल्म ‘विक्की डोनर’ र २०१३ मा ‘मद्रास क्याफे’ बनाएका थिए। ‘मद्रास क्याफे’मा उनले अभिनय समेत गरेका थिए।
जोनले थुप्रै हिट फिल्म दिए पनि उनको पछिल्लो पाँच फिल्म लगातार फ्लप भएको छ। उनको ‘रोमियो अकबर वाल्टर, बाटला हाउस, पागलपन्ती, मुम्बई सागा, सत्यमेव जयते २ र अट्याक’ फ्लप भएका थिए।
उनी आगामी फिल्म ‘एक भिलेन रिटर्न्स' मा देखिंदैछन्। यो फिल्ममा जोनसँगै अर्जुन कपूर, तारा सुतारिया र दिशा पटानीलगायत कलाकारको अभिनय छ। एक्सन फिल्मलाई एकता कपूरको बालाजी मोसन पिक्चर्स र भूषण कुमारको टी-सिरिजले निर्माण गरेका हुन्।