दक्षिण भारतीय अभिनेत्री मीनाका श्रीमान तथा व्यापारी विद्यासागरको निधन भएको छ। उनको चेन्नईको एक निजी अस्पतालमा निधन भएको हो।
उनी लामो समयदेखि फोक्सोको बिरामी थिए। कोरोना लागेपछि उनको फोक्सोमा थप समस्या आएको थियो। केही महिनादेखि फोक्सोको उपचार गराइरहेका विद्यासागरको बुधबार बिहान निधन भएको हो।
मीनाको श्रीमानको निधन भएको दक्षिण भारतीय अभिनेता सरथकुमारले ट्वीटमार्फत जानकारी दिएका हुन्।
मीनासँगै फिल्ममा अभिनय गरिसकेका सरथकुमारले निधनप्रति दुःख व्यक्त गर्दै लेखेका छन्, ‘अभिनेत्री मीनाका श्रीमान विद्यासागरको असामयिक निधनको खबर सुनेर स्तब्ध भएको छु। मीना र उहाँका परिवारप्रति हार्दिक समवेदना छ। उहाँको आत्माले शान्ति पाओस्।’
अभिनेत्री मीना र विद्यासागरले सन् २००९ मा विवाह गरेका थिए। उनीहरूकाे एक छोरी नैनिका छिन्। नैनिका बालकलाकार हुन्। उनले विजयकुमारको फिल्म ‘थेरी’बाट अभिनयमा डेब्यू गरेकी थिइन्।
दक्षिण भारतीय फिल्ममा काम गरिरहेकी मीना 'दृष्यम १ र २' मा देखिएकी थिइन्।